काठमाडौँ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आसन्न निर्वाचनमा एमालेभन्दा ठूलो शक्ति बन्ने महत्त्वाकांक्षासहित वाम–समाजवादी मोर्चाको रणनीति तीव्र पारेका छन् । दाहाल र नेपालसहितका शीर्ष नेताहरूले सोमबार करिब तीन घण्टा बैठक गरेर पार्टी एकताका लागि संयोजन समिति बनाउने निर्णयसमेत गरेका छन् ।
ललितपुरको हात्तीवनस्थित एक निजी अपार्टमेन्टमा भएको बैठकमा केही दिनमा नै पार्टी एकताका लागि संयोजन समिति घोषणा गर्ने, आगामी निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने, दुई पार्टीबीच विचार, राजनीति र कार्यदिशा मिलाउने, निर्वाचनमा मिलेर उम्मेदवारी तय गर्ने विषयमा छलफल भएको थियो । ‘हामीले पहिला नै बैठकबाट पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेका थियौं । केही दिन अघि एकीकृत समाजवादीको सचिवालय बैठकले पनि पार्टी एकतामा जाने र संयोजन समिति गठन गर्ने निर्णय गर्यो,’ माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसपछि दुई पार्टीका नेताबीच पहिलो पटक सोमबार छलफल भयो ।’
श्रेष्ठका अनुसार केही दिनमा नै पार्टी एकता संयोजन समिति घोषणा गर्ने तयारी छ । ‘पार्टी एकताको घोषणा चुनावपछि गर्ने तर ०७४ को निर्वाचनमा जस्तै दुई पार्टीबीच एकता गर्ने भनेर जाने र त्यसका लागि एउटै चुनावी घोषणापत्र बनाउने समझदारी बनेको छ,’ उनले भने, ‘एउटै घोषणापत्रमा जाने भनेर औपचारिक निर्णय एकता संयोजन समितिले गर्छ ।’ समितिमा अध्यक्षसहित शीर्ष नेतालाई राख्ने तयारी छ ।
दाहाल र नेपालको यस सहकार्यलाई कतिपय नेताले सत्ता साझेदार कांग्रेसमाथि दबाब राख्ने रणनीतिका रूपमा टिप्पणी गरेका छन् । ‘प्रचण्ड र माधव कमरेडबीच भएको सहमति रणनीतिक महत्त्वको छ । वाम–समाजवादी मोर्चा हुँदै पार्टी एकतामा जाने दीर्घकालीन रणनीति हो, यसले एमाले एकताविरोधी हो भन्ने सन्देश प्रवाह गर्छ । तत्कालका लागि आसन्न निर्वाचनमा एमालेभन्दा ठूलो शक्ति बन्ने हो,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने, ‘वाम–समाजवादी मोर्चा बनाउँदा कांग्रेससँग सहकार्य र टिकट बाँडफाँटमा पनि सन्तुलन हुन सक्छ ।’ उनका अनुसार कांग्रेसलाई दबाबमा राखेर माओवादी र एकीकृत समाजवादीले गठबन्धनमा ८० सिटको अडान राख्ने तयारी गरेका छन् । ‘चुनावपछि पार्टी एकता हुन्छ हुन्न यकिन छैन । तर अहिलेलाई सिट बाँडफाँटमा कांग्रेसलाई दबाबमा राख्ने र एमालेलाई वामपन्थीमा दोस्रो शक्तिमा झार्ने रणनीतिअन्तर्गत नै पछिल्ला घटनाक्रम विकसित भएका हुन्,’ ती पदाधिकारीले भने ।
एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालका अनुसार एकता संयोजन समितिमा दुवै पार्टीबाट ५र५ नेता रहने गरी छलफल अघि बढेको छ । ‘चुनावअघि पार्टी एकता हुँदैन । एउटै चिह्नमा चुनाव लडिँदैन । घोषणापत्र साझा बनाउन सकिन्छ वा सकिन्न भन्ने छलफलमै छ । एकता संयोजन समिति बनिसकेपछि त्यसले निर्णय गर्छ । संयोजन समितिमा ५र५ जना बस्दा होला भन्ने कुरा छ । ठ्याक्कै टुंगिन बाँकी छ,’ उनले भने ।
एकीकृत समाजवादीको भदौ १ मा भएको सचिवालय बैठकले बृहत् वामपन्थी एकताका लागि पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेको थियो । बैठकले उपमहासचिवत्रय गंगालाल तुलाधार, विजय पौडेल र प्रकाश ज्वालालाई चुनावी घोषणापत्र लेख्ने जिम्मा दिएको थियो । भदौ ४ मा बसेको माओवादी स्थायी समिति बैठकले प्रदेश र प्रतिनिधिसभाका लागि घोषणापत्र मस्यौदा बनाउन समिति गठन गरेको थियो । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वको समितिमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, कृष्ण चौधरी, परशुराम तामाङ, मिरा ढुंगाना र जगत सिंखडा सदस्य छन् ।
एउटै चिन्हमा चुनाव लड्दा समानुपातिक मतमा क्षति हुने एकीकृत समाजवादीको विश्लेषणपछि दुई दलले आ–आफ्नो चिन्हमा निर्वाचन लड्ने निर्णय गरेका छन् । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले भने माओवादी केन्द्रको चिन्हबाट आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्ने सहमति गरिसकेका छन् ।

