काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ११ सदस्यीय प्रतिनिधि मण्डलकाे नेतृत्व गर्दै असोज ६ गते अमेरिका जाने भएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी न्युयोर्क जाने भएका हुन्। परराष्ट्र मन्त्रालय स्राेतका अनुसार असाेज ९ गते स्वदेश फर्किने कार्यक्रम रहेकाे छ । महासभालाई प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने तय भएको छ। रसुवा भोटेकोसी बाढीले ठूलो जनधनको क्षति गरेपछि प्रधानमन्त्रीलाई महासभामा गएर आवाज उठाउन दबाब बढेको थियो।
त्यहाँ उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेका समस्याका विषयमा राष्ट्रसंघको ध्यानाकर्षण गराउनेछन्। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तय भएको थियो।तर, बाढीका कारण प्रधानमन्त्रीनै महासभामा गएर जलवायु न्यायका विषयमा संसारको ध्यानाकर्षण गराउनुपर्ने आवाज उठेपछि शाह न्यूयोर्क जाने भएका हुन्।
प्रधानमन्त्री बनेको पाँच महिनामा शाहको यो नै पहिलो विदेश भ्रमण हुनेछ। यद्यपी यो औपचारिक रुपमा अमेरिकाको भ्रमण होइन। शाहले प्रधानमन्त्री भएपछि अहिलेसम्म कुनै देशका राष्ट्र वा सरकार प्रमुखसँग प्रत्यक्ष भेटवार्ता गरेका छैनन्।
भ्रमण टोलीमा प्रधानमन्त्री शाहको प्रमुख सल्लाहकार कुमार बेन, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्य, श्रीमती सविना काफ्ले रहने स्रोतले जानकारी दिएको छ।
परराष्ट्र सचिव अमृतबहादुर राई, मन्त्रालयको संयुक्त राष्ट्रसंघ हेर्ने महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल र तीन जना सुरक्षाकर्मी पनि प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा रहने परराष्ट्रका एक अधिकारीले जानकारी दिए ।


