काठमाडौँ । संसदीय छानबिन विशेष समितिले सार्वजनिक गरेको प्रतिवेदनमाथि शंका व्यक्त गर्दै नेकपा (एमाले)का अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी ओलीले जनार्दन शर्माको बजेट प्रकारणमाथि अन्तर्राष्ट्रिय छानबिन हुनुपर्ने माग गरे । यता प्रम शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने छानबिन प्रतिवेदनबाट तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा निर्दोष रहेको भन्दै पुन अर्थमन्त्री बनाउने सहमति गरे । जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ ।
बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
अर्थमन्त्री छँदा शर्माले केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । करको दर हेरफेर गर्न उनले बजेट भाषणको अघिल्लो रात (जेठ १४ गते) राजस्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको उनीमाथि आरोप लागेको थियो ।
उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिहरु सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो ।

