काठमाडौं । एक पटक फेरि प्रधानमन्त्री बन्ने चाहना सार्वजनिक रुपमा अभिव्यक्त गर्दै आएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’शुक्रबार भारत भ्रमणमा जाँदैछन्।
भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा प्रचण्ड भारत जान लागेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
मल्लका अनुसार भजपाले नेपाल–भारत सम्बन्धबारे एक कार्यक्रम राखेकोले त्यसमा सहभागी हुन प्रचण्ड दिल्ली जान लागेका हुन्।
तीनदिने भ्रमणका क्रममा प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने सम्भावना रहेको तर, समय तय भइनसकेको मल्लले बताए। प्रचण्ड आइतबार नेपाल फर्कने कार्यक्रम रहेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वा भारतीय नेताहरुसँग प्रचण्डले नेपालको लिम्पियाधुरा–लिपुलेक–कालापानीको झण्डै चार सय वर्ग किमि भूमि भारतले अतिक्रमण गरेको विषय उठाउँछन् कि उठाउँदैनन्, निकै चासोका साथ हेरिएको छ ।
दुईपटक प्रधानमन्त्री समेत भइसकेका प्रचण्डले देशको राष्ट्रिय स्वाधीनताको रक्षाका विषयमा भारतीय नेताहरुसँग कुरा गर्ने अपेक्षा गरिएको सिमाविद्हरुले बताएका छन् । यस विषयमा प्रचण्डको भूमिका के रहन्छ त्यो भने प्रचण्डको भ्रमणपछि नै स्पष्ट हुनेछ ।

