काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट ११५.६५ केजी वुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा ४६ वर्षीय लिउ जिङताव र २३ वर्षीय लिउ छिआओसुवा रहेका छन्। उनीहरुको साथबाट स्रोत नखुलेको १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीहरूलाई बुधबार दिउँसो १ बजे ठमेलको जिङझिङ अन्तर्राष्ट्रिय होटलबाट पक्राउ गरिएको हो। उनीहरू होटल कोठा नं. ४०४ र ४०९ मा बसोबास गर्दै आएका थिए।
उक्त होटलबाट बुद्धचित्तको अवैध कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए ।
प्रहरीले उनीहरूबाट नेपाली रुपैयाँ १२ लाख ७० हजार, १५५.६५ केजी बुद्धचित्त, ३ वटा मोबाइल फोन, र २ थान पासपोर्ट बरामद गरेको जनाएको छ। प्रहरीले उक्त रकम र सामग्रीहरू नियमविपरीत देखिएको भन्दै अनुसन्धान अघि बढाएको छ।
घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

