१ साउन, काठमाडौं। गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुर्नविचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका छन् ।
बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुसँगको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताए ।
‘महिनावारीमा ठुलो अन्धविश्वासले काम गरेको छ,’ मन्त्री लेखकले भने, ‘यसको निर्मलीकरणका लागि कसरी अगाडि बढ्ने अन्तर पार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ।’
महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटनामा सरकार गम्भीर रहेको मन्त्री लेखकको भनाइ छ । ‘महिलाहरुको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षामा गम्भीर छु।’ उनले भने, ‘अपराध गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने काम पनि भइरहेको छ।’

