केही समय पहिले दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथि महाअभियोग लाग्यो । यस प्रकरणले दक्षिण कोरियाको राजनीतिमात्रै नभएर त्यहाँको समाजमा बढ्दै गरेका विभाजनका गहिरा रेखा पनि सतहमा ल्याइदियो । यस्तै एउटा रेखा कोरियाली इसाईहरू अर्थात् क्रिश्चियन समाजलाई विभाजन गरेर जान्छ ।
राष्ट्रपति युनले कोरियामा ‘मार्शल ल’ लगाउन गरेको प्रयास असफल भयो । इसाईहरूभित्रको प्रोटेष्टेन्ट समुदायलाई प्रतिनिधित्व गर्ने ‘इभान्जेलिकल’हरू राष्ट्रपतिको कदमको समर्थनमा सडकमै आए । उग्रदक्षिणपन्थी पाष्टर जियोन क्वाङ–हुनले ‘मार्शल ल’ घोषणा गर्ने राष्ट्रपतिको सम्मानमा ‘कोरिया जोगाऔँ’ भन्ने व्यानरमा विभिन्न जुलुसनै आयोजना गरेका थिए । तर यसको विपरीत कोरियामा रहेका चर्चहरूको संगठन कोरियाली राष्ट्रिय चर्च परिषदले भने राष्ट्रपतिको निर्णयको विरोधमा आफूलाई उभ्यायो । त्यहाँको संवैधानिक अदालतबाट लोकतन्त्र पुनर्स्थापना गर्ने प्रकारको फैसला हुनुलाई उसले ‘ऐतिहासिक निर्णय’ भनेर स्वागत गर्यो ।
दक्षिण कोरियाली समाज तथा लोकतन्त्रबारे त्यहाँको संघर्षमा इसाई धर्म लामो समयदेखि एक प्रभावशाली शक्ति रहेको छ । दक्षिण कोरिया एसियामा धेरै इसाईहरू भएको मुलुकको सूचीमा अग्र स्थानमा पर्छ । त्यहाँ लगभग ३० प्रतिशत जनसंख्याले आफूलाई इसाई धर्मावलम्बीको रूपमा चिनाउन चाहन्छन् । त्यहाँको राजनीतिमा इसाईहरूको संलग्नता पृथक प्रकारको छ । प्रोटेस्टेन्ट समूहहरू युद्धपछिको देशको अधिनायकवादी शासनसँग नजिक जोडिएका थिए । उनीहरू कोरियामा सैन्य शासनको पक्षमा धेरै मात्रामा रहेको विगत छ ।
तर रोमन क्याथोलिकहरूले भने १९८० को दशकमा सुरु भएको लोकतान्त्रिकरणको आन्दोलनलाई समर्थन गरेका थिए । आजको दिनमा पनि यस्ता विभाजन उही स्वरूपमा त छैनन्, तर हराएका पनि छैनन्। अर्को इसाई संस्था ‘क्याथोलिक पिस ब्रोडकास्टिङ कर्पोरेशन’का चो सेउङ–ह्योन भन्छन्, ‘इसाईहरू पनि विभाजित समाजकै अंश हुन् । हामी पूर्ण रूपमा कुनै एक पक्षका होइनौँ ।’
धेरैजसो एसियाली मुलुकमा इसाईहरू अल्पसंख्यकको रूपमा छन् । तर अल्पसंख्यकको हैसियतमै पनि उनीहरू धेरै मुलुकमा प्रभावशाली छन् । फिलिपिन्स र पूर्वी टिमोरमा मात्रै इसाईहरू बहुसंख्यकको रूपमा छन् । तर युरोप र उत्तर अमेरिकामा इसाईको जनसंख्या घटिरहेको बेला एसियामा भने बढिरहेको छ । चर्चहरूको क्षेत्रीय संस्था ‘एसियाली इसाई सम्मेलन’का म्याथ्युज जर्ज चुनाकाराका अनुसार क्रिश्चियानिटीको गुरुत्वको केन्द्र सरिरहेको छ ।
बोष्टनको ‘गोर्डन कोन्वाल थियोलोजिकल सेमिनारी’सम्बद्ध टोड जोन्सनका अनुसार एसियाबाट इसाई नेताहरू उदाउने क्रम बढिरहेको छ ।
अहिले अफ्रिका र ल्याटिन अमेरिका नयाँ इसाईहरूको स्रोत बन्दैछन् । एसियाले पनि यसमा ठुलो भूमिका खेल्दैछ । सन् २०२० देखि सन् २०२५ सम्ममा एसियामा इसाई धर्मावलम्बीको संख्या १ दशमलव ६ प्रतिशतले बढेको छ । क्रिश्चियानिटीका लागि यो क्षेत्रको बढ्दो महत्त्व दर्शाउने गरी गएको नोभेम्बरमा पोप फ्रान्सिसले दक्षिण–पूर्वी एसियाको भ्रमणसमेत गरेका थिए ।
बोष्टनको ‘गोर्डन कोन्वाल थियोलोजिकल सेमिनारी’सम्बद्ध टोड जोन्सनका अनुसार एसियाबाट इसाई नेताहरू उदाउने क्रम बढिरहेको छ । अमेरिकी पादरी बिल्ली ग्राहमले स्थापना गरेको इसाई समूह ‘द लौसान्ने मुभमेन्ट’को अगुवाई कोरियाली मूलका अमेरिकीले गरेका छन् । यसले जापानमा आफ्नो सक्रियता व्यापक रूपमा बढाएको छ । ‘पेन्टेकोष्टल वर्ल्ड फेलोशिप’ तथा ‘वल्र्ड इभान्जेलिकल अलायन्स’ जस्ता ठुला इसाई संस्थाका पछिल्ला प्रमुखको रूपमा क्रमशः मलेसिया तथा फिलिपिन्सका नागरिक छन् । दक्षिण कोरियाका मिसिनरी संसारमा सबैभन्दा सक्रिय मानिन्छन् । दक्षिण कोरियाली कार्डिनल लाजारस यु ह्योङ–सिकलाई त अबको सम्भावित पोपकै रूपमा हेर्ने गरिन्छ ।


