काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल–भारतबीच टनकपुर बाँधबाट पानी वितरण गर्ने सहमति भएको बताएका छन्।
‘भारत ऊर्जा सप्ताह(२०२५’ मा भाग लिएर स्वदेश फर्किएका मन्त्री खड्काले टनकपुर बाँधबाट नेपालतर्फ पानी छोड्ने सहमति भएको बताएका हुन्।
उनले सिंचाइतर्फ पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारेमा अन्तिम टुंगो लगाउने बारे छलफल भएको जानकारी दिए।
‘सिंचाइतर्फ हाम्रा ठूला आयोजनाहरू पञ्चेश्वरलाई अगाडि बढाउने छलफल भयो र एक हिसाबको सहमति अगाडि बढेको छ। अब चाँडै सम्माननीय प्रधानमन्त्रीहरूको बैठकमा अन्तिम टुंगो लाग्ने हिसावले हाम्रो छलफल भएको छ, उनले भने, कोशीको विषयमा पनि केही छलफल भएका छन्। टनकपुरमा छोड्नुपर्ने अहिलेसम्म सहमति भएको, वर्षअघि नै निर्माण भइसकेको तर पानी नछोडिएको अवस्थालाई चाँडै नै पानी छोड्ने सहमति भएको छ।
कोसी परियोजनाका विषयमा पनि छलफल भएको उनको भनाइ छ। उनले दुई देशबीच सिंचाइ व्यवस्थापन बैठक हुन नसकेको र फेब्रुअरी २२ मा छलफल गर्ने सहमति भएको पनि बताए।
ुदुई देशबीचमा सिंचाइतर्फ पनि बैठक हुन नसकेको लामो समय भयो, उनले भने, अब आउने २२ –२४ तारिकमा नै मिटिङ हुनेगरीको एक खालको सहमति भएर दुवै देशका मन्त्रीका बीचमा सफलतापूर्वक बैठक सम्पन्न भएको छ।
दुई देशबीच संयुक्त लगानीमा बनेका ट्रान्समिसन लाइनको विषयमा ५०र५० प्रतिशत लगानी हुँदा निर्णयार्थ गर्नुपर्ने विषयमा दुविधा हुने भएको र अब नेपालकोतर्फ नेपालको ५१ प्रतिशत र भारतको ४९ प्रतिशत र भारततर्फ भारतको ५१ र नेपालको ४९ प्रतिशत लगानी गर्ने सहमति भएको बताए।
बंगलादेशतर्फ पनि ट्रान्समिसन लाइन बनाउने कुराको पनि छलफल अघि बढेको मन्त्री खड्काको दाबी छ। अबका वर्षहरूमा कार्बन शुन्य उत्सर्जनको लक्ष्य लिएको र सोहीअनुसार कार्बन व्यापारको रकम प्राप्त गर्ने उनको भनाइ छ।

