काठमाडौँ । सरकारले हिमाल आरोहण शुल्क बढाएको छ । पर्यटन विभागको सिफारिसमा केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले पर्वतारोहण नियमावली संशोधन गर्दै शुल्क बढाएको हो । नियमावलीको अनुसूची ४ मा यस्तो शुल्क निर्धारणको व्यवस्था गरिएको छ ।
शुल्क बढाउने निर्णय भए पनि यस्तो शुल्क नेपाल राजपत्रमा प्रकाशित भने भएको छैन । अहिले गरिएको उक्त निर्णय आगामी सेप्टेम्बर १ ९२०८१ भदौ १७० देखि लागु हुनेछ ।
नयाँ दर अनुसार सगरमाथा चढ्न वसन्तकालीन समयमा सगरमाथा आरोहण शुल्क १५ हजार अमेरिकी डलर पुर्याइएको छ । त्यस्तै, शरद ऋतुमा ७ हजार ५ सय डलर पुर्याउने निर्णय भएको छ । बाँकी सिजन ९जाडो र मनसुन० को शुल्क ३ हजार ७५० डलर कायम गरिएको छ । यसअघि तीन वटा सिजनको शुल्क क्रमशः ११०००, ५५०० र २७५० डलर थियो ।
त्यस्तै, नेपाली आरोहीका लागि वसन्त ऋतुमा १ लाख ५० हजार रुपैयाँ पुर्याइएको छ । शरद ऋतुमा ७५ हजार रुपैयाँ र बाँकी सिजनका ३७५०० रुपैयाँ कायम गरिएको छ । हालसम्म तीन सिजनमा ७५०००, ३७५०० र १७२५० रुपैयाँ शुल्क कायम छ ।
सगरमाथा बाहेकका ८००० मिटरभन्दा माथिका अरू हिमालमा विदेशीका लागि लागि वसन्तकालीन, शरदकालीन र अन्य सिजनमा क्रमशः ३०००, १५०० र ७५० डलर शुल्क निर्धारण गरिएको छ । हालसम्म यस्तो शुल्क १८००, ९०० र ४५० डलर शुल्क रहँदै आएको छ ।
त्यस्तै, ७५०१ हजारदेखि ८००० हजार मिटर उचाइसम्मका हिमालका लागि १०००, ५०० र २५० अमेरिकी डलर तोकिएको छ । हालसम्म यो दर ६००, ३०० र १५० अमेरिकी डलर कायम गरिएको छ ।
७००० हजारदेखि ७५०० मिटरसम्मका लागि ८००, ४०० र २०० डलर पुर्याइएको छ । अहिलेसम्म यो उचाइको हिमाल चढ्न ५००, २५० र १२५ डलर लाग्दै आएको छ ।
त्यस्तै, ६५०१ देखि ६९९९ मिटरसम्मका लागि ५००, २५० र २०० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ ।अहिलेसम्म उक्त हिमालका लागि ४००, २०० र १०० अमेरिकी डलर आरोहण शुल्क निर्धारण गरिएको छ ।
६५०० मिटरभन्दा कम उचाइका हिमालका लागि ३५०, १७५ र १८५ डलर शुल्क पुर्याइएको छ । हालसम्म यस्तो शुल्क २५०, १२५ र ७० डलर रहँदै आएको थियो ।
त्यसबाहेक, मनासलुको लागि क्रमशः १५००, ३००० र १५०० डलर तथा ६८१२ मिटरको माउन्ट अमादबलममा भने १०००, १००० र ५०० डलर शुल्क निर्धारण गरिएको छ । यसअघि मनासलुका लागि छुट्टै शुल्क थिएन । माउन्ट अमादबलमका लागि भने तीन सिजनमा क्रमशः ४००, ४०० र २०० डलर शुल्क निर्धारण गरिएको थियो ।
सरकारले हिमाल आरोहणमा बढाउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय जगतमा व्यापक चासो बढेको छ । अन्तर्राष्ट्रिय मिडियाले यो विषयलाई चासोका साथ प्रकाशन गरेका छन् ।
अहिले सरकारले उक्त शुल्क बढाउनुमा हिमालमा थपिँदै गएको फोहोरको व्यवस्थापन गर्न र पर्वतारोहणमा काम गर्ने व्यक्तिको बीमा कभरेज बढाउने रहेको उल्लेख गरेको छ । यद्यपि आगामी वसन्तकालीन सिजनमा सगरमाथा आरोहण गर्नेले यसको भार व्यहोर्नु पर्दैन ।
कस्तो पर्छ असर
सरकारले पर्वतारोहण शुल्क बढाएसँगै यसको असर पर्यटन क्षेत्रमा कस्तो पर्छ भन्ने विषय सर्वाधिक चासोको विषय छ । एक दशकपछि गरिएको शुल्क परिमार्जन र त्यसको प्रयोजनलाई स्वाभाविक मान्न सकिए पनि यसले गर्ने असरबारे समेत नजरअन्दाज गर्न नहुने पर्यटन क्षेत्रका सरोकारवाला बताउँछन् ।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टान का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा सरकारको यो निर्णयले पर्वतारोहणका साथै पर्वतीय पर्यटन ट्रेकिङ व्यवसायमा समेत असर पर्ने बताउँछन् । अहिले पर्वतारोहण गर्न आउनेहरू एक्लै आउँदैनन् । हिमाल चढ्ने एकजना व्यक्तिले अरू ४-५ जना लिएर आउने गरेको उनको भनाइ छ । त्यसरी आउने व्यक्तिमध्ये अधिकांश बेसक्याम्पसम्म पुग्छन्, ट्रेकिङ गर्छन् ।
यसको अर्को असर चाहिँ चीनबाट सगरमाथा चढ्ने सम्भावना हो । अहिले चिनियाँ क्षेत्रबाट समेत सगरमाथा चढ्न पाइन्छ । त्यो क्षेत्रबाट सगरमाथा चढ्दा २५\ ३० हजार डलरमा सम्पूर्ण खर्च धान्ने अवस्था रहेको व्यवसायीहरू बताउँछन् । जबकि अहिले नेपालले पर्वतारोहणको शुल्क मात्रै ११ हजार डलर छ । सबै खर्च जोड्दा करिब ४० हजार डलर पर्न आउने शेर्पाको भनाइ छ । त्यसैले अहिले पनि कतिपय पर्यटक चीनबाट हिमाल चढ्ने गरेका छन् ।


