१० पुस, काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाउँदैछन् । यस दिनका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा बुधबार देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइँदै छ।
प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुर लगायत स्थानमा ‘क्रिसमस ट्रि’ बनाएर सजाइएको छ।
यस अवसरमा आज मानिसले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन्। यस अवसरमा विभिन्न स्थानमा सांगीतिक कार्यक्रमको समेत आयोजना गरिने जनाइएको छ।

दिवस मनाइएका स्थलमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ। येशू ख्रीष्टको शुभ जन्म दिनको खुसीयालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो दिवस मनाइन्छ।
नेपालमा क्रिश्चियन इतिहास ४०० वर्ष भन्दा पुरानो रहेको विश्वास गरिन्छ। हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन समुदाय रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ।
उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सीबी गहतराज बताउँछन् ।
विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासंघले महोत्सवका रुपमा मनाउने थालेको हो ।
दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ ।
यस दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् ।
हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासंघको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासंघले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ ।
प्रज्ञाभवनमा महोत्सव
महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने महासंघका अध्यक्ष गहतराजले बताए ।
पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ ।
पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।

