काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज परिसूचक करिब २ प्रतिशतले घटेको छ । गत बिहीबार २६८२ अंकमा बन्द भएको बजार सोमबर ५१.५७ अंक १.९१ प्रतिशत ले घटेर २६३.९१ अंकमा झरेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचकमा १।२३ प्रतिशत ३३.४२ अंक को गिरावट आएको थियो ।
सरकार ढल्ने हल्ला तथा सेयरबजारमा नयाँ सेयरको आपूर्ति बढ्ने डरका बीच बजार घटिरहेको हुनसक्ने स्टक ब्रोकर्स एसोसियसनका पूर्वअध्यक्ष सन्तोष मैनालीले बताए ।
‘नेपाल धितोपत्र बोर्डमा नयाँ नेतृत्व आएपछि पाइपलाइनमा भएका आईपीओ, एफपीओ तथा हकप्रद सेयर निस्कासनको अनुमति प्राप्त हुने र त्यसले आपूर्ति बढाउने डर लगानीकर्ताले मानिरहेको देखिन्छ,’ उनले भने, ‘राजनीतिक हल्लाको असर पनि स्वाभाविक रुपमा बजारमा देखिने नै भयो ।’
साथै, विगतमा कमजोर कम्पनीको सेयर मूल्य धेरै बढेका कारण त्यसमा आएको करेक्सनले पनि बजारलाई असर पारेको उनले बताए । सोमबार नेप्से परिसूचक मात्रै होइन, कारोबार रकम पनि सीमान्त रूपमा घटेको छ । बिहीबार ६ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार घटेर ५ अर्ब ९३ करोड रुपैयाँको कारोबार भयो ।
सोमबार कारोबारमा आएका उपसूचकमध्ये सबै घटेका छन् । सबैभन्दा उच्च दरले फाइनान्स कम्पनीहरूको उपसूचक ४.४१ प्रतिशतले घटेको छ । त्यस्तै, ट्रेडिङ उपसूचक ३.५५ प्रतिशतले घटेको छ । कुल २ सय २७ कम्पनीको सेयर मूल्य घट्दा १५ को भने बढेको छ । सेयर बजारमा उच्च गिरावट आउँदा पनि कुथेली बुखारी साना जलविद्युत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर ३३ रुपैयाँ पुगेको छ ।
एक मेगावाट पनि उत्पादन क्षमता नरहेको कम्पनीको सेयरमा कर्नरिङ भइरहेको आशंका गरिए पनि नियामकले यसमा ध्यान दिन सकेको छैन ।
त्यस्तै जोशी जलविद्युत् कम्पनीको सेयर मूल्य ९.४० प्रतिशतले बढेको छ ।जानकी फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यो कम्पनीको सेयर मूल्य ९.५८ प्रतिशतले घट्दा नेपाल फाइनान्सको सेयर ७.४५ प्रतिशतले घटेको छ ।

