काठमाडौं । सोमबार अनौपचारिक रुपमा नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टीका बरिष्ठ नेता डा. विजय जोलीले भारतमा ७५ लाख नेपाली रहेको दावी गरेका छन् । एक मिडियालाई दिएको संक्षिप्त अन्तर्वार्तामा यस्तो बताएका हुन् । उनी कुन उद्देश्य लिएर यस पटक अनौपचारिक भ्रमणका आएका हुन् । यस बारेमा उनले केही बताएका छैनन् । सो संक्षिप्त अन्तर्वार्तामा उनले भनेका छन्,– ‘नेपाल र भारतबिचको सम्बन्ध रोटीबेटीमो मात्र होइन, परापूर्वकालदेखि नै धार्मिक र सांस्कृतिक सम्बन्ध समेत रहेको छ र यो सम्बन्ध सँधै रहिरहनेछ । नेपाल–भारत सम्बन्ध– जिन्दावाद ।’
एक हप्ताअघि मात्रै भारतीय जनता पार्टीका राष्ट्रिय महासचिवले पनि अनौपचारिक रुपमा नेपाल आएका थिए । भोलि नै भारतीय सेनाका स्थलगत सेना प्रमुख पनि एक हप्ताका लागि नेपाल भ्रमणमा आउँदै छन् । उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, रक्षा मन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई भेट्ने पनि स्रोतले जानकारी दिएको छ । नेपालका प्रधानमन्त्रीको चीन भ्रमणको पूर्वसन्ध्यामा भारतीय पक्षका राजनीतिक र सैन्य नेतृत्वको आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

