काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले आसन्न महाधिवेशनबाट क्रान्तिको नयाँ खाका कोर्ने र साँच्चैको विकल्प बनेर प्रस्तुत हुने बताएका छन् । उनले हालै एक अनलाइनलाई दिएको अन्तवार्तामा यस्तो बताएका हुन् ।
उनले नेपालमा राजनीतिक संकट चुलिएको, देशमा जनअसन्तुष्टी चुलिएको र जनताले क्रान्तिकारी विकल्पको खोजी गरिरहेको विश्लेषण गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नै नेपाली राजनीतिको एकमात्र क्रान्तिकारी विकल्प रहेको पनि दावी गरे ।
उनले मंसिर १३ देखि २३ सम्म काठमाडौंमा हुने महाधिवेशनबाट नेपालमा विद्यमान राजनीतिक संकट समाधानका लागि आवश्यक पर्ने राजनीतिक क्रान्तिको कार्यभार पूरा गर्ने गरी राजनीतिक कार्यदिशाको विकास गर्ने बताउँदै पार्टीभित्र ‘माओवाद र माओविचारधारा’, जनयुद्धको मूल्यांकन, संघीयता, जातीय तथा क्षेत्रीय स्वशासन, तत्कालीन कार्यनीति लगायतका विषयमा रहेका फरक मतहरुलाई सही व्यवस्थापन गर्न आन्तरिक फोरमहरु सञ्चालन भइरहेको जानकारी दिए । यी फरक मतहरुलाई एकता–संघर्ष–रुपान्तरण, जनवादी केन्द्रीयता र सहमतीय विधिबाट व्यवस्थापन गरिने पनि बताए ।

