डिवी कार्की
वीरगञ्ज, मंसिर ५। पर्साको वीरगञ्ज महानगरपालिका–१५ ब्रह्मचोकस्थित टायर, मोबिल तथा केमिकलको पसल र गोदाममा भीषण आगलागी हुँदा करिब आठ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। देवेन्द्र सत्यालद्वारा सञ्चालित उत्कृष्ट ट्रेड कन्सर्न लुब्रिकेन्ट्स प्रालिको व्यापारिक प्रतिष्ठानमा शनिबार राति करिब १२:३० बजे अचानक आगलागी भएको हो।
आगलागीबाट गोदाममा भण्डारण गरिएका विभिन्न ब्रान्डका टायर, मोबिल, हाइड्रोलिक पार्टपुर्जा, हेभी इक्विपमेन्टका सामग्री तथा विभिन्न प्रकारका केमिकल जलेर नष्ट भएका छन्। आगोले गोदाममा रहेका सामग्रीमा ठूलो क्षति पुर्याएको र प्रारम्भिक विवरणअनुसार करिब आठ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको जनाइएको छ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ९५ जना सुरक्षाकर्मी परिचालन भएका थिए। नेपाली सेनाको श्रीजङ्ग गणबाट उपसेनानी सुरेन्द्र सिंह बिष्टको कमाण्डमा १५ जना, जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षक सन्दीपबहादुर खड्काको कमाण्डमा ३५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीको कमाण्डमा ४५ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए।
आगलागी नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाका दुईवटा, नेपाली सेनाको एउटा, पोखरिया नगरपालिकाको एउटा तथा उद्योग वाणिज्य संघसहित विभिन्न स्थानीय तहका दमकल परिचालन गरिएको थियो। आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, दमकलकर्मी तथा स्थानीय तहका अग्नि नियन्त्रकहरूले संयुक्त रूपमा प्रयास गरेका थिए। लामो प्रयासपछि बिहान ५:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको सुरक्षा निकायले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आगोको तीव्रता र गोदाममा भण्डारण गरिएका टायर तथा मोबिलजस्ता सामग्रीका कारण नियन्त्रणमा कठिनाइ भएको थियो। केही सञ्चारमाध्यमले नजिकै रहेको मोटर ग्यारेज तथा त्यहाँ मर्मतका लागि राखिएका सवारीसाधनमा समेत आगोबाट क्षति पुगेको उल्लेख गरेका छन्। घटनामा मानवीय क्षति भएको विवरण भने सार्वजनिक भएको छैन।
आगलागीको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन। प्रारम्भिक विवरणमा गोदामभित्रबाट अचानक आगो सुरु भएको उल्लेख भए पनि आगलागीको यकिन कारण पुष्टि हुन बाँकी छ। घटनाबारे थप अनुसन्धान तथा क्षतिको विस्तृत विवरण संकलन आवश्यक रहेको छ।


