काठमाडौँ । नेपालको प्रशासनिक, सुरक्षा र न्यायिक वृत्त यतिबेला गम्भीर हलचलमा छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशका तीन प्रमुख अंगनिजामती प्रशासन, नेपाल प्रहरी र न्यायपालिकामा देखिएको दीर्घकालीन बेथिति र विवादलाई एकै झट्कामा चिर्ने गरी ‘बोल्ड डिसिजन’ (निर्णायक कदम) को आन्तरिक गृहकार्य तिब्र बनाएसँगै सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म तरंग पैदा भएको छ।
गठन भएको अर्धवार्षिकी कार्यकालमा सुशासनलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेका प्रधानमन्त्री शाहले अब प्रणालीभित्र सुधार गर्न कडा र निर्णायक कदम नचाले प्रशासनिक गतिरोध टुट्न नसक्ने निष्कर्शमा पुगेका छन्। यही दूरगामी रणनीतिको कडीका रूपमा उनले हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग लामो र घनीभूत परामर्श गरेका छन्।
शक्ति केन्द्रको भेट र राजनीतिक मन्थन
बुढानीलकण्ठस्थित निवासमा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच करिब चार घण्टା चलेको एक्लै–एक्लै र खुला छलफलले भावी राजनीतिक परिदृश्यको संकेत गरिसकेको छ। सरकारको अर्धवार्षिकी समीक्षा, निजामती सेवा कानुनको नयाँ प्रारूप, नवबिचौलिया इनम सापकोटा प्रकरणमा प्रहरी र न्यायपालिकाको मुछिएको कनेक्सन यी भेटका मुख्य कार्यसूची थिए।
प्रधानमन्त्रीले अगाडि बढाउने कठोर कदममा प्रक्रियागत विधि पुर्याएर अघि बढ्न सुझाएका लामिछानेले कसैले गल्ती गरेको छ भने उन्मुक्ति पाउनुहुँदैन भन्ने कुरामा दृढता देखाएका छन्। यसैबीच, रास्वपा सभापतिले सभामुख डोलप्रसाद अर्यालसँग गरेको भेटघाटलाई पनि संसद्मार्फत चाल्नुपर्ने आगामी रणनीतिक तयारीका रूपमा हेरिएको छ।
निजामती सेवामा फेरबदलको अध्यादेश रणनीति
सरकार अब प्रशासनिक ढिलासुस्ती र पुरानो सिन्डिकेटलाई भङ्ग गर्न अध्यादेशमार्फत ‘केही नेपाल ऐन संशोधन गर्ने’ तयारीमा छ। संसद्मा विचाराधीन विधेयकको बाटो कुर्नुभन्दा छिटो परिणाम निकाल्न सरकारले ५५–३० को व्यवस्था (५५ वर्ष उमेर वा ३ वर्ष सेवा अवधि) लागू गर्ने योजना बनाएको छ।
यस अध्यादेशमार्फत सचिवको पदावधि ३ वर्ष र मुख्यसचिवको २ वर्षमा सीमित गर्ने तयारी छ। यदि यो निर्णय कार्यान्वयनमा आएमा मुख्यसचिवसहित ठूलो संख्यामा सचिव र सहसचिवहरू एकैपटक अनिवार्य अवकाशको दाथ्रीमा पर्नेछन्, जसले प्रशासनयन्त्रमा युवा र नयाँ नेतृत्वको ढोका खोल्नेछ।
प्रहरी नेतृत्वमा दबाब र आन्तरिक मोर्चाबन्दी
प्रशासन मात्र होइन, सुरक्षा संयन्त्रभित्र पनि तनाव चरम सीमामा पुगेको छ। बिचौलिया इनम सापकोटासँगको कथित सम्पर्क, रास्वपा सांसद खगेन्द्र सुनारसँग जोडिएको प्रकरण र प्रहरी पोसाक खरिदका विवादास्पद विषयहरूलाई अगाडि सार्दै प्रधानमन्त्रीको सचिवालयले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि मार्गप्रशस्त गर्न दबाब बढाएको छ।
प्रधानमन्त्री कार्यालयबाट दबाብ आएसँगै आईजीपी कार्की पनि रक्षात्मक मात्र नभई रणनीतिक रूपमा सक्रिय भएका छन्। उपत्यकादेखि जिल्ला तहसम्मका प्रहरी प्रमुखहरूसँग भर्चुअल संवाद गरेका कार्कीले बिहीबार नीति समन्वय समिति (पीसीसी) को बैठक राखेर संगठनलाई कमजोर पार्ने कुनै पनि प्रयास सैह्य नहुने र कानुनबमोजिम प्रतिवाद गर्ने स्पष्ट सन्देश दिएका छन्। प्रहरी प्रवक्तामार्फत जारी गरिएको विज्ञप्तिले सुरक्षा निकाय र सरकारबीचको सम्बन्धमा देखिएको चिसोपनलाई छताछुल्ल पारेको छ।
न्यायपालिकामा भूकम्प प्रधानन्यायाधीश र न्यायाधीशमाथि छानबिनको राँको
यो उथलपुथलको सबैभन्दा गम्भीर हिस्सा न्यायपालिकातर्फ सोझिएको छ। बिचौलिया इनम सापकोटासँगको आर्थिक लेनदेन र सम्पर्कको जालोमा प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मा, न्यायाधीशहरू हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको नाम जोडिएपछि न्याय क्षेत्रमा ठूलो भूकम्प गएको छ। सापकोटाले विचाराधीन मुद्दा प्रभावित पार्न न्यायाधीशहरूलाई मेसेज गरेको र प्रधानमन्त्रीको नामसमेत दुरुपयोग गरेको खुलेको छ।
कानून व्यवसायीहरूको छाता संगठन ‘नेपाल बार एसोसिएसन’ले सार्वजनिक रूपमै निष्पक्ष, स्वतन्त्र र समयबद्ध छानबिनको माग गर्दै विज्ञप्ति जारी गरेपछि नैतिक दबाब झन् बढेको छ। प्रधानन्यायाधीश शर्माले सापकोटासँग आफ्नो कुनै चिनजान नरहेको स्पष्टीकरण दिए पनि न्यायाधीश फुयालले भने भेट र सम्पर्क भएको स्वीकार गर्दै आफुले नै उजुरी दिएको दाबी गरेका छन्।
प्रधानमन्त्री शाह भने यी गम्भीर विषयमा मौन बस्ने पक्षमा छैनन्। विवादमा मुछिएका प्रधानन्यायाधीश र न्यायाधीशहरूमाथि संसद्बाट महाभियोगको प्रस्ताव अगाडि बढाउनेसम्मको तयारीमा प्रधानमन्त्री निकट जुटिरहेका छन्। यही संकटको निकास खोज्न प्रधानन्यायाधीश शर्माले शुक्रबार बिहानै ‘फुलकोर्ट’को आकस्मिक बैठक आह्वान गरेका छन्।
कर्मचारीतन्त्रको पुराना दरबन्दी तोड्ने अध्यादेश, प्रहरी नेतृत्व फेर्ने आन्तरिक दबाब र न्यायपालिकाको शीर्ष तहसम्म पुगेको बिचौलिया कनेक्सनको जालो—यी तीनवटै मोर्चामा प्रधानमन्त्री बालेनले एकसाथ चाल्न लागेको कदमले नेपाली राजनीति र शासन प्रणालीमा दूरगामी प्रभाव पार्ने निश्चित छ। सरकारको यो ‘बोल्ड डिसिजन’ले देशलाई सुशासनको मार्गमा डोऱ्याउँछ वा नयाँ राजनीतिक तथा संवैधानिक द्वन्द्व निम्त्याउँछ, त्यो भने आगामी केही दिनको घटनाक्रमले नै स्पष्ट पार्नेछ।


