काठमाडौं । ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर !’ शीर्षकमा प्रेस वक्तव्य जारी गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले विद्यमान बेथिति, भ्रष्टाचार, महँगीलगायत वर्तमान दलाल संसदीय व्यवस्थाका विरुद्ध सशक्तरुपमा सङ्घर्षको मैदानमा उत्रन विद्यार्थी, अभिभावक, शिक्षक, मजदूर, किसान, युवालगायत आम जनसमुदायलाई हार्दिक अपिल गरेको छ । संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलको हस्ताक्षरमा जारी वक्तव्यमा यस्तो अपिल गरिएको हो ।
वक्तव्यमा जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ताका लागि नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग समेत गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “नेपाल सरकार र नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी नेपाली जनताको ढाड सेक्ने काम गर्दै आएको छ । यसप्रति हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) घोर विरोध गर्दछ । कथित स्थानीय तहको निर्वाचन सक्दा–नसक्दै फेरि पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ । आज मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँका दरले मूल्यवृद्धि गरी पेट्रोलको मूल्य प्रतिलिटिर १७०, डिजेलको मूल्य प्रतिलिटर १५३ र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पु¥याएको छ । पटकपटक सरकारले इन्धनमा गरेको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तु र सेवाको मूल्य बढिरहेको छ, जसले गर्दा आम सर्वसाधारण नेपाली जनताको चुल्होसमेत नबल्ने गरी जीवन धान्नै मुस्किल बन्न पुगेको छ । नेपाली जनतालाई राहत दिनुको सट्टा पटक–पटक मूल्यवृद्धि गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार बन्नुका साथै दलाल र माफियाहरुको संरक्षण तथा नेतृत्व गर्नमै तल्लीन रहेको छ । गठबन्धनका नेताहरु प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र प्रतिपक्षी दलका नेता के.पी. ओलीलगायत संसदवादी पार्टीका नेताहरु तिनै दलाल, माफिया र राष्ट्रघातीहरुको संरक्षण गर्नमै तल्लीन छन् । देशमा राष्ट्रघात र जनघातका शृङ्खलाहरु एकपछि अर्को गर्दै थपिँदै गइरहेका छन् । राष्ट्रघाती एम.सी.सी. सम्झौता संसद्बाट पारित गराउन सत्तापक्ष र प्रतिपक्ष दुवै मरिहत्ते गरेर लागिपरे, जसले गर्दा आगामी दिनमा झन् नेपाल गम्भीर सङ्कटको भूमरीमा फस्ने र नेपाल विदेशीको क्रिडास्थल बन्ने खतरा बढेर गएको छ । मुलुकमा भ्रष्टाचार त्यत्तिकै व्याप्त छ । जनता रोग, भोक र अभावबाट ग्रसित छन् । ७० लाखभन्दा बढी युवा र विद्यार्थी विदेशिन बाध्य छन् भने ५० लाखभन्दा बढी युवा र विद्यार्थी स्वदेशमै बेरोजगारीले प्रताडित छन् । अहिलेको दलाल संसदीय राज्यव्यवस्थाले चरम रुपमा स्रोत र साधनको दुरुपयोग गरी पैसाको खोलो बगाएर हालै कथित स्थानीय तहको निर्वाचन गरेको छ, जसले मुलुकलाई थप अस्थिरता, अस्तव्यस्तता, महँगी, भ्रष्टाचार बढाउनेछ र जनताको जनजीवन अझ सङ्कटपूर्ण बन्नेछ ।
तसर्थ, जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ताका लागि नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग गर्दै विद्यमान बेथिति, भ्रष्टाचार, महँगीलगायत वर्तमान दलाल संसदीय व्यवस्थाका विरुद्ध सशक्तरुपमा सङ्घर्षको मैदानमा उत्रन विद्यार्थी, अभिभावक, शिक्षक, मजदूर, किसान, युवालगायत आम जनसमुदायलाई हार्दिक आग्रह गर्दछौं ।”

