न्युज एजेन्सी । रुस–युक्रेन द्वन्द्व प्रभावित क्षेत्रवाट ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिएका छन् ।
समितिका अनुसार मंगलबारसम्म २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन् । यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरूलाई सुरक्षित स्थानान्तरणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।
बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए । सुवेदीले युक्रेनमा रहेका नेपालीहरूको सङ्ख्या सोचे भन्दा अझ बढी हुनसक्ने बताए ।

