काठमाडौं । सर्वाेच्च अदालतकाे फैसलासँगै रवि लामिछानेले सांसद, मन्त्री र पार्टी अध्यक्ष तीनवटै पद गुमाएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुध्दको नागरिकतासम्बन्धी मुध्दामा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासले लामिछानेले नागरिकता पुन: प्राप्तिको प्रक्रिया पुरा नगरेकोले यस्तो फैसला सुनाएको हो ।
अदालतको यो फैसलासँगै लामिछानेको सांसद,मन्त्री र पार्टीको सभापति पद खारेज भएको छ । नेपालको संविधानले प्रतिनिधिसभा सदस्य पदका योग्यतामा नेपाली नागरिक हुनुपर्ने भनेको छ । जसका कारण लामिछानेको उम्मेदवारी मनोनयनदेखि अहिलेसम्मको सबै प्रक्रिया रद्द भएको छ । साथै उनी पार्टीको सभापति हुन पनि अयोग्य भएका छन् ।
अदालतको यो फैसलाले अब उनको पासपोर्टसमेत छानविनको दायरामा आउने छ । लामिछानेले सन् २०१४ मा अमेरिकी पासपोर्ट लिएका थिए भने २०१५ मा नेपालमा पासपोर्ट बनाएका थिए । त्यसको तीन वर्षपछि मात्र उनले अमेरिकी पासपोर्ट त्यागेका थिए ।

