काठमाडौं । चीनले आफूमाथि आक्रमण गर्न सैन्य अभ्यासले तीव्र पारेको ताइवानको भनाइपछि अमेरिकाले चीनको चर्को आलोचना गरेको छ । चीनले जोखिम कार्य गरेको र उत्तेजना फैलाउन खोजेको अमेरिकाको दावी छ ।
‘चिनियाँ सैनिक गतिविधिहरू यथास्थिति फेर्ने प्रयासमा गरिएको ठूलो घटना हो । गैरजिम्मेवार र उत्तेजनापूर्ण यस्ता कदमले जोखिम बढाउँछन्,’ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका प्रवक्ताले भनेका छन् । यस्ता गतिविधि ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम राख्ने लक्ष्यविपरीत छन् ।
अमेरिकी सभामुख नान्सी पेलोसी नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डलले गत साता ताइवानको भ्रमण गरेपछि अमेरिका र चीनबीच तनाव चुलिएको छ । चिनियाँ अधिकारीले ताइवान भ्रमण नगर्न पेलोसीलाई चेतावनी दिएका थिए । चीनले ताइवान आफ्नो छुट्टै राज्य भएको बताउने गर्छ । पेलोसीको भ्रमण ताइवान भ्रमणले ताइवानमाथिको आफ्नो स्वामित्वलाई चुनौती दिइएको चीनको बुझाइ छ ।
पेलोसीको भ्रमण सकिएलगत्तै चीनले ताइवान स्ट्रेटमा सैन्य अभ्यास सुरु गरेको हो । चीनले सैन्य अभ्यास सुरु गरेको आइतबार चौथो दिन हो । उक्त सैन्य अभ्यास हालसम्मकै ठूलो भएको बताइएको छ । ताइवानको रक्षा मन्त्रालयले चिनियाँ जहाज र विमानहरूले ताइवान स्ट्रेटमा विभिन्न गतिविधि गरेको जनाएको छ । तीमध्ये केहीले चीन र ताइवानबीच विद्यमान अनौपचारिक मध्यवर्ती रेखा नाघेका थिए ।
चीनले आफ्नो देशमाथि आक्रमण गर्न त्यसरी अभ्यास गरेको ताइवानी अधिकारीको भनाइ छ । आइतबारको अभ्यासमा सयभन्दा बढी लडाकु विमान र १० वटा सैन्य युद्धपोत सहभागी थिए । चिनियाँ सञ्चारमाध्यमका अनुसार अभ्यासका क्रममा एउटा क्षेप्यास्त्र सिधै ताइवानी टापुमाथि प्रहार गरिएको थियो । वास्तविक शस्त्रअस्त्रसहित गरिएको त्यस्तो अभ्यासको यथोचित जवाफ दिइएको ताइवानी सेनाको भनाइ छ । सैन्य विमान र युद्धपोतलाई चेतावनी दिन ताइवानले पनि आफ्ना लडाकु विमान उडाएको जनाएको छ ।
चीनले क्षेत्रीय स्थिरता भंग गर्न हठपूर्वक सैन्य अभ्यास गरेको ताइवानी प्रधानमन्त्री सु जन–चाङले आरोप लगाएका छन् । तर उनले चिनियाँ पक्षलाई संयमित हुन आग्रह गरेका छन् । चिनियाँ अधिकारीले भने सैन्य अभ्यासबारे हालसम्म कुनै टिप्पणी गरिसकेको छैन । शुक्रबार भने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनइङले अमेरिकी विदेश नीतिको कडा आलोचना गरेका थिए । पेलोसीको ताइवान भ्रमणका कारण ताइवान स्ट्रेटको शान्ति र स्थिरतामा गम्भीर असर पुगेको चीनको भनाइ छ ।
लामो समयदेखि चीनको कडा आलोचकका रूपमा परिचय बनाएकी अमेरिकी सभामुख मंगलबार राति ताइवान पुगेकी थिइन् । साढे दुई दशकपछि ताइवान पुग्ने उनी वरिष्ठ अमेरिकी अधिकारी हुन् । भ्रमणका क्रममा उनले अमेरिकाले ताइवानको साथ नछाड्ने बताएकी थिइन् । ८२ वर्षीया पेलोसीले मानवाधिकारको अवस्थाबारे प्रश्न उठाउँदै चीनको आलोचना गर्दै आएकी छन् । त्यसका साथै मुस्लिम समुदायमाथि चीनले गरेको दमनको पनि पेलोसीले कडा आलोचना गर्दै आएकी छन् ।

