काठमाडौ । श्रीलंकाका राजदूत महामहिम श्रीमती रुवन्थी डेल्पिटियाले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भेटका क्रममा उहाँले विनाशकारी बाढीबाट प्रभावित नेपालप्रति श्रीलंका सरकार र जनताको तर्फबाट गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गर्नुभयो।
राजदूत डेल्पिटियाले बाढीपछिको मानवीय सहायता तथा राहत कार्यमा सहयोग पुर्याउन श्रीलंका सरकारका तर्फबाट १० लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो।
परराष्ट्रमन्त्री खनालले नेपालप्रति श्रीलंकाले देखाएको ऐक्यबद्धता र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोग दुई देशबीचको गहिरो मित्रता र पारस्परिक सहयोगको प्रतिबिम्ब भएको बताउनुभयो।
