वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
तीसदिनमा काठमाडौँबाट २४१ जना हराए, १४२३ वटा ठाडो उजुरी
Prabhu Bank AD

सारांश

काठमाडौँ । काठमाडौँबाट एक महिनाको अवधिमा २४१ जना मानिस हराएको निवेदन प्रहरीमा परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले शनिबार सार्वजनिक गरेको पौष महिनाको मासिक प्रगति विवरण अनुसार हराउने र उजुरी पर्नेको संख्या उच्च देखिएको हो।

प्रहरीको तथ्याङ्क अनुसार पौष महिनामा विभिन्न उमेर समूहका २४१ जना हराएका छन्। जसमा ७३ जना महिला, ८१ जना पुरुष, २६ जना बालक र ६१ जना बालिका रहेका छन्। हराएका मध्ये १४८ जना फेला परेको प्रहरीले जनाएको छ। फेला पर्नेमा ३८ महिला, ४७ पुरुष, १७ बालक र ४६ जना बालिका रहेका छन्।

अझै पनि ठूलो संख्यामा हराएका मानिसहरु सम्पर्कमा आउन नसकेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

यसैगरी, सोही अवधिमा प्रहरी कार्यालयमा १४ सय भन्दा बढी ठाडो उजुरी परेका छन्। परिसरका अनुसार प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा १४२३ वटा ठाडो उजुरी दर्ता भएका छन्। तीमध्ये १०५५ वटा उजुरीमा प्रहरीले मिलापत्र तथा फछ्र्यौट गराएको छ। यसबाहेक जिल्ला प्रशासन कार्यालय मार्फत पनि २३३ वटा उजुरी प्रहरीमा आएकोमा १२० वटाको फछ्र्यौट भएको प्रहरीले जनाएको छ।

शान्ति सुरक्षा र अपराध नियन्त्रणको पाटोमा पौष महिनामा काठमाडौँमा कुल ९६२ वटा मुद्दा दर्ता भएका छन्। जसमा जघन्य तथा गम्भीर अपराधका ३५, महिला तथा बालबालिकासँग सम्बन्धित २८ र आर्थिक अपराधका ४८४ वटा मुद्दा रहेका छन्।

चालु मुद्दाका सिलसिलामा प्रहरीले एक महिनामा ३३९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३०० पुरुष र ३९ जना महिला रहेका छन्। सबैभन्दा बढी अभद्र व्यवहार र बैंकिङ कसुरमा पक्राउ परेका छन्।

पछिल्लो समय साइबर अपराध र ठगीका घटना पनि निकै बढेको पाइएको छ। पौष महिनामा मात्रै साइबर अपराध र ठगी शीर्षकमा १९१ वटा निवेदन परेका छन्। अनलाइन सपिङ, वैदेशिक रोजगार, बैंक खातामा अनधिकृत पहुँच, र सामाजिक सञ्जालको दुरुपयोग गरी करिब ३ करोड ६६ लाख ८८ हजार रुपैयाँ बराबरको बिगो दाबी सहितका उजुरी परेको प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए ।

Prabhu Bank AD

सम्बन्धित खवर