वि.सं.२०८२ फागुन २० बुधवार
Dish Home Long Ad
त्रिशूलीमा खसेको सपनास् कसैले हातैमा श्रीमान गुमाए, कसैको कोरिया जाने रहर भाँचियो
Prabhu Bank AD

 

कसैले आफ्ना श्रीमानको प्राण आफ्नै हातमा गएको टुलुटुलु हेर्नुपर्‍यो भने कोही कोरिया उड्ने सपना बुन्दाबुन्दै अस्पतालको आकस्मिक कक्षमा पुगेका छन्। दुर्घटनामा परेर पनि बाँच्न सफल याङ्गी, सलिना र सदीक्षाका आँखामा अझै त्यो भयावह रातको दृश्य सपना झैँ नाचिरहेको छ। उद्धारको पर्खाइमा बितेको त्यो कष्टकर एक घण्टा र आफ्नै आँखै अगाडि यात्रुहरू भुक्लुक–भुक्लुक ढलेको दृश्य उनीहरूका लागि कहिल्यै निको नहुने घाउ बनेको छ। अहिले ट्रमा सेन्टरको कोलाहलबीच उनीहरू भाग्यले बाँचेकोमा खुसी हुने कि आफ्ना प्रियजन र सपना गुमेकोमा रुने भन्ने दोसाँधमा छन्।

काठमाडौँको ट्रमा सेन्टर आकस्मिक कक्ष घाइतेहरुले भरिएको छ। त्यहीँको एउटा शय्यामा छिन्, बौद्धकी याङ्गी शेर्पा। उनका आँखा सुन्निएका छन्। बोल्दाबोल्दै भक्कानिन्छिन्। आइतबार राति पोखराबाट श्रीमान लोप्साङ लामासँगै रात्री बस चढ्दा उनले सोचेकी थिइनन्– बिहान घर पुग्दा उनी एक्लै हुनेछिन्।

दुर्घटनामा परेर बाँच्न सफल याङ्गी ट्रमा सेन्टरमा उपचार गराइरहेकी छिन्। तस्विरस् प्रज्ञा तिम्सिना
दुर्घटनामा परेर बाँच्न सफल याङ्गी ट्रमा सेन्टरमा उपचार गराइरहेकी छिन्। तस्विरस् प्रज्ञा तिम्सिना
रात छिपिँदै जाँदा बसका सबै यात्रु निद्रामा मस्त थिए। ढोका नजिकैको सिटमा रहेका याङ्गी र लोप्साङ पनि सुतिसकेका थिए। राति करिब १ बजेतिर एक्कासि गाडी हल्लिन थाल्यो। घन्द्र्याङ–घन्द्र्याङ गर्दै बस तल खस्दा याङ्गी चिच्याइन्। सिटमुनि पुगिन्।
यात्रा सोचेजस्तो भएन।

तर उनले कहिल्यै जवाफ दिएनन्
केही समयपछि उनी सिटबाट बाहिर त निस्किन्, तर सँगै रहेका श्रीमान त्यहाँ थिएनन्। बसबाट निस्केर हेर्दा उनले देखिन्– श्रीमान बाहिर लडिरहेका थिए।

‘लोप्साङ लोप्साङ,’ उनले बोलाइन्। तर लोप्साङले कुनै प्रतिक्रिया दिएनन्।

त्यतिबेला रातको करिब साढे १ बजेको हुँदो हो। उद्धारका लागि कोही आइपुगेको थिएन। ‘एक घण्टासम्म श्रीमानको साथमा बसेँ, कोही आएन,’ ट्रमा सेन्टरमा उपचाररत याङ्गीले रुँदै सुनाइन्, ‘उपचार नपाएर उ मेरो हातमै मर्‍यो।’

बौद्धमा बुद्ध धर्मसम्बन्धी पुस्तक पसल चलाउने याङ्गीका दुवै छोरा विदेशमा छन्। उनको हात भाँच्चिएको छ। ‘भोलिपल्ट बिहान घर पुग्ने भन्दै सँगै आएका थियौँ। अब एक्लै घर जानुपर्ने भयो। मेरो बुढा सारै गाह्रो भएर मर्‍यो,’ उनले भक्कानिँदै सुनाइन्।

उनका अनुसार चालकको लापरवाहीले दुर्घटना भएको हो।
‘बस ठिकै गतिमा हिँड्दै थियो। ड्राइभर सिटमा दुई जना केटीहरु सँगै थिए। उनीहरु ड्राइभरसँगै बोल्दै थिए। त्यहीबीच बस सडकभन्दा तल खस्यो। एकैछिन त के भयो पत्ता नै भएन,’ उनले सुनाइन्।

दुर्घटनाका घाइतेलाई कंलकीस्थित नेशनल अस्पताल, त्रिवि शिक्षण अस्पताल पुर्‍याएको थियो। केहीलाई ट्रमा सेन्टर रेफर गरियो। यान्जीसहित १२ जना ट्रमामै छन्। उनीहरूका हात, खुट्टा र ढाड्मा चोट लागेको छ। दुर्घटनापछि १५ जनालाई ट्रमा सेन्टर लगिएको थियो। २ जना डिस्चार्ज भएका छन्। १ जना सोमबार दिउँसो बिते।

बस धादिङको बेनीघाट रोराङ–५, भैँसीगौडामास्थित पृथ्वी लोकमार्गमा सडकबाट २ सय मिटर तल त्रिशूली किनारमा खसेको थियो। ४४ यात्रुमध्ये १९ जनाले ज्यान गुमाए। ग२ख १४२१ नम्बरको बसका यात्रुमध्ये २५ जना घाइते छन्।

ट्रमा सेन्टरकै अर्को कुनामा छन्, सलिना परियार र सदीक्षा हमाल। १८–१९ वर्षका यी दुई सहेली कोरिया जाने सपना बुनेर काठमाडौँ आउँदै थिए। फागुन २१ को निर्वाचनअघि नै कागजात मिलाउन उनीहरु हतारिएका थिए।

‘दोमन भईभई आएका थियौँ। यस्तो हुन लेखेको रै’छ,’ सलिनाले मलिन अनुहार लगाउँदै भनिन्, ‘अब कोरिया पनि जान नपाइने भयो।’

घान्द्रुक घर भएकी सलिनालाई यो घटना कुनै चलचित्र जस्तो लागेको छ। ‘गाडी खस्छ, हिरो आएर बचाउँछ। त्यस्तै लागिरहेछ,’ उनले भनिन्, ‘छिटो छिटो काम सकाउन आएका आज अस्पतालको शय्यामा सुत्नु परेको छ। के सोचेर आयौँ, के भयो ।

सलिना र सदीक्षा अन्तिम सिटमा थिए। गाडी खस्न थालेपछि मान्छेहरु कराए। उनीहरुको निद्रा खुल्यो। ‘म सँगै बस्नु भएको दिदी एकैछिनमा बित्नुभयो। म र मेरो साथी सिट मुनि पुगेका थियौँ। धन्न कसरी बाच्यौँ। सबै दृश्य सपना जस्तो लगिरहेछ,’ सलिनाले सुनाइन्।
ुअरुको हेर्दा त मलाई केही भएको छैनु
सलिनाको ढाडमा चोट लागेको छ। ट्रमा इमर्जेन्सी वार्ड बाहिर बसेकी आमा सुशीला छोरी जीवितै देख्न पाउँदा खुसी छिन्। राति फोनमा छोरीले ‘ममी हामी चढेको गाडी खस्यो’ भन्दा उनको जीउ गलेको थियो। बिहानै पोखराबाट काठमाडौँ आएकी सुशीला अहिले बल्ल सम्हालिएकी छिन्।

सलिनाकी साथी सदीक्षा हमाल पनि आफूलाई भाग्यमानी ठान्छिन्। ‘बस खस्दा त बाँचिन्छ जस्तो लागेको थिएन, धन्न बाँचियो,’ उनले सुनाइन्, ‘बसभित्र रगत बग्न थाल्यो। आँखै अगाडि मान्छे भुक्लुक–भुक्लुक लड्न थाले। उठ्न खोज्दा खुट्टा चलाउनै सकिनँ, म त सिट तल परेको रै’छु।’

Prabhu Bank AD

सम्बन्धित खवर