कार्तिक १५, जनकपुरधाम । कक्षा ९ मा पढ्दै गरेकी १८ वर्षीया रजीना खातुन एक घण्टाका लागि मधेस प्रदेशको शिक्षामन्त्री बनेकी छन् ।
धनुषा जनकनन्दनी गाउँपालिका घर भएकी खातुनलाई शिक्षामन्त्री महेश प्रसाद यादवले बुधवार खातुनलाई खादा ओढाएर सम्मानपूर्वक आफ्नो पद हस्तान्तरण गरेका थिए । खातुन बिहान ८ बजेदेखि ९ बजेसम्म मन्त्री पद सम्हालिन् ।
अन्तर्राष्ट्रिय बालिको दिवसको अवसरमा समानताको सन्देश दिन प्लान इन्टरनेशनल नेपालको पहलमा खातुन मन्त्री बनेकी हुन् । उनी कक्षा ९ मा अध्ययनरत छन् । मन्त्री बनेपछि खुशी लागेको उनले बताइन् ।
मन्त्रीको कुर्सीमा बसेर उनी आफ्नो गाउँको शिक्षा क्षेत्रको समस्या मन्त्री यादवलाई सुनाएकी थिइन् । उनी प्रदेश सरकारले चलाएको बेटी पढाऊ, बेटी बचाउ अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।
मन्त्री यादवले महिला र पुरुष बराबर हुन्छन् भन्ने सन्देश दिन बालिका खातुनलाई एक घण्टाका लागि आफ्नो पद हस्तान्तरण गरेको बताए । उनले ‘वालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नारालाई सार्थक बनाउन आफू पछि नहट्ने प्रतिबद्धता पनि जनाए ।
खातुनलाई मन्त्री बनाउन पहल गरेका प्लान इन्टरनेशनलका क्षेत्रीय प्रबन्धक रविशंकर पण्डितले ‘अन्तराष्ट्रिय बालिका दिवस’ अन्तर्गत समानताको सन्देश दिन स्कूलमा अध्ययनरत छात्राहरूलाई केहि घण्टाका लागि सांकेतिक रूपमा मेयर, उपमेयर र मन्त्री बनाउने अभियान जारी राखेको बताए ।

