काठमाडौं । इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गएका १० जनामध्ये चारजना नेपाली विद्यार्थीको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको सरकारी अधिकारीहरूले बताएका छन्।
इजरेलमा मारिएका विद्यार्थीका आफन्तले शव ल्याउन ढिलाइ गरिँदा आफूहरूलाई “थप पीडा भएको” बताइरहेका बेला केही शवहरू नेपाल ल्याइएको हो।
नेपाल र इजरेल सरकारबीचको सम्झौता अन्तर्गत ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरेल गएका ती विद्यार्थीहरू हमासको आक्रमणमा परेर मारिएका थिए।
मृतकमध्ये नारायणप्रसाद न्यौपाने, दीपेश विष्ट, लोकेन्द्रसिंह धामी र आशिष चौधरीको शव धनगढी पुर्याएर परिवारका सदस्यहरूलाई बुझाइएको कैलाली प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यलय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले भने, “नेपाली सेनाको हेलिकप्टरबाट शवहरू यहाँ ल्याइएको थियो। हामीले परिवारका सदस्यहरूलाई शवहरू बुझाइसकेका छौँ।”
यसअघि परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले न्यौपानेको शव शनिवार राति नै काठमाण्डू ल्याइएको र विष्ट तथा धामीको शव आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको जनाएको थियो।
मृतक आशिष चौधरीको शव भने आइतवार दिउँसो नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

