काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज चीनमा ऐतिहासिक शिखर वार्ता भइरहेको छ। तीन देशका शीर्ष नेताहरूबीचको यो पहिलो औपचारिक वार्ता हो।
चीनको दक्षिणी शहर सेन्जनमा जारी एशिया प्यासिफिक इकोनोमिक कोअपरेशन ९एपेक० सम्मेलनमा सहभागी तीनै नेताहरूले सेन्जन इन्टरन्याश्नल एक्सचेन्ज सेन्टरमा बैठक गरिरहेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार ट्रम्प, सी र पुटिन आज बिहीवार सम्मेलनस्थल पुगेका हुन्।
बैठकको विस्तृत अजेन्डा सार्वजनिक नभए पनि यसमा विश्व शान्ति, परमाणु निःशस्त्रीकरण तथा युक्रेन र इरानसँग जोडिएका युद्धका विषयमा गहन छलफल हुने अनुमान गरिएको छ। कतिपय विश्लेषकहरूले यो भेटवार्ताले विश्वलाई प्रभाव क्षेत्रका आधारमा बाँड्ने नयाँ भूराजनीतिक समीकरणको संकेत दिन सक्ने बताएका छन्।
त्रिपक्षीय संवादअघि राष्ट्रपति ट्रम्पले सी जिनपिङ र भ्लादिमिर पुटिनसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका रहेको छ। गत वर्ष अलास्कामा भएको वार्ता निष्कर्षविहीन बनेपछि ट्रम्प र पुटिनबीच पहिलोपटक आमनेसामने भेट हुन लागेको हो। एकातिर अमेरिका र युक्रेनबीचको सम्बन्धमा तनाव बढ्दै गएको छ भने अर्कातिर ट्रम्पले पुटिनसँगको आफ्नो व्यक्तिगत सम्बन्ध सकारात्मक रहेको बताउँदै आउनुभएको छ।


