काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु र त्यसबाट सिर्जित प्रकोपको विषयमा पाँचवटा विषयमा विश्वको ध्यानाकर्षण गराउने भएका छन् । सेप्टेम्बर २४ मा उनले महासभामा सम्बोधन गर्ने तय भएको छ । उक्त सम्बोधनमा मुख्य रुपमा प्रधानमन्त्रीले फोकस गर्ने विषयबारे परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार प्रधानमन्त्रीले जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नुपरेको जनधनको ठूलो क्षतिबारे विश्वसमुदायको ध्यानाकर्षण गर्ने छन् ।
नेपालले नगन्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नुपरिरहेको विषयलाई प्रस्तुत गर्नेछन् ।
यस सन्दर्भमा नेपालले हानी नोक्सान कोष लगायतका निकायबाट तत्कालै र उचित क्षतिपूर्ति प्राप्त गर्ने जस्ता जलवायु न्याय सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने परराष्ट्रले जानाएको छ ।
नेपालमा जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्न, जलवायु चुस्त कृषि प्रवर्द्धन गर्न र सरोकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन धनी र विकसित मुलुकहरूलाई अपिल गर्नेछन् ।
नेपालले प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी जङ्गल, विशाल हिमालय क्षेत्र र बृहद् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षण र प्रवर्द्धनमा पुर्याउँदै आएको योगदानको बारेमा जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव अमृतबहादुर राईले अहिले सानो डेलिगेसन जाने भएकोले यसमा विज्ञ टोलीको सहभागिता नहुने र भविष्यमा जलवायु न्याय सम्बन्धी संयुक्त राष्टसंघमा विशेष प्रस्ताव तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।
प्रधानमन्त्री बालेन्द्र शाह १४ जना प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सेप्टेम्बर २२ मा अमेरिका जाने २४ मा सम्बोधन गर्ने र २५ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ । परराष्टमन्त्री शिशिर खनाल भने ५ जना प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सेप्टेम्बर २० मा जाने तयारी भइरहेको छ । बाँकी ९ जना भने प्रधानमन्त्री सँगै जानेछन् ।
