काठमाडौ । चीनले राहत सामग्रीको तेस्रो खेप पठाएको छ। चिनियाँ सेना (पीएलए)को वाई–२०ए जहाजले आकस्मिक राहत सामग्रीहरु बिहीबार काठमाडौंमा ल्याएको हो।
यो पीएलएको विशाल ट्रान्सपोर्ट एयरक्राफ्ट हो। राहत सामग्रीसँगै तेस्रो खेपमा चीनले १० जना फरेन्सिक विज्ञहरु पनि ल्याएको छ। यो विज्ञ टोलीको चौथो ब्याच हो।
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा ती सामग्री हस्तान्तरण गरिएको थियो भने चिनियाँ विज्ञहरुलाई स्वागत गरिएको थियो।

राहत सामग्रीमा मर्चरी फ्रिजर, महामारी रोकथामका वस्तु र दैनिक आवश्यक पर्ने वस्तुहरु छन्।

रसुवा बाढीमा ज्यान गुमाएकाहरुको पहिचानमा विज्ञ टोलीले नेपाललाई सहयोग गर्नेछ। त्यसैगरी चीनले बेलिब्रिज पनि नेपाल पठाएको छ। नेपालमा धेरै पक्की पुल बगेपछि चीनले तत्कालका लागि ३० वटा बेलिब्रिज सहयोग गर्ने जनाएको थियो। जसअनुसार पहिलो ब्याच कोरला नाकानजिकै चिनियाँ सीमामा आइपुगेको छ।
लिजी–नेचुङ सीमा बन्दरगाहमा ती पुलहरु हस्तान्तरण गरिने चिनियाँ राजदूतावासले जनाएको छ।
