वि.सं.२०८३ भदौ २८ आइतवार
Dish Home Long Ad
सुरुङ उद्धारका लागि दक्षिण कोरियाले ५ कुकुरसहित ४४ जनाको दक्ष टोली पठाउँदै

 

दक्षिण कोरियाले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग गर्न ४४ सदस्यीय विपद् उद्धार टोली पठाउने भएको छ। कोरियाली उद्धार टोलीले बाढीपछि सम्पर्कविहीन भएका नौ जना दक्षिण कोरियाली नागरिकको खोजीलाई समेत प्राथमिकता दिनेछ। नेपाल सरकारले औपचारिक रूपमा सहयोगका लागि आग्रह गरेपछि दक्षिण कोरियाले विपद् उद्धार टोली पठाउन लागेको हो।

दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार सरकारको निर्णयपछि कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) नेपाल पठाउने निर्णय गरेको थियो। विदेशमा हुने ठूला विपद्का बेला दक्षिण कोरियाको आपत्कालीन राहत तथा उद्धार समन्वय गर्ने सरकारी निकाय र सम्बन्धित निजी क्षेत्रका संस्थाहरू सम्मिलित सार्वजनिक–निजी ओभरसिज इमर्जेन्सी रिलिफ काउन्सिलको निर्णयपछि उक्त टोली रसुवामा परिचालन भइसकेको छ। दक्षिण कोरियाले भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीपछि निर्णय गर्दै उद्धारमा दक्ष उद्धार टोली पठाउने निर्णय गरेको थियो। रसुवामा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत नौ जना दक्षिण कोरियाली नागरिक सम्पर्कविहीन छन्। उनीहरूमध्ये ६ जना दुसान एनर्बिलिटीका कर्मचारी र तीन जना कोरिया साउथ–इस्ट पावरका कर्मचारी हुन्। दक्षिण कोरिया यसअघि नै केडीआरटी टोली नेपाल पठाउने तयारी गरे पनि नेपाली पक्षले औपचारिक निर्णय नगर्दा ढिलो मात्रै नेपाल आइपुगेको हो।

४४ सदस्यीय टोलीको नेतृत्व दक्षिण कोरियाको विदेश मन्त्रालयका विकास सहयोगसम्बन्धी महानिर्देशक ली क्यु–होले गर्नेछन्। टोलीमा विदेश मन्त्रालयका तीन अधिकारी, कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सीका चार जना तथा राष्ट्रिय अग्नि नियन्त्रक निकायका ३७ जना सदस्य रहनेछन्। टोलीसँगै पाँचवटा खोज तथा उद्धार कुकुरसमेत नेपाल ल्याइँदै छ।

केडीआरटी टोली मंगलबार राति दक्षिण कोरियाली वायुसेनाको केसी ३.३० साइग्नस बहुउद्देश्यीय हवाई इन्धन भर्ने तथा यातायात विमानमार्फत काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ। करिब १० दिनको उद्धारका क्रममा टोलीले नेपाली अधिकारीहरूसँग समन्वय गर्दै बाढीबाट प्रभावित व्यक्तिहरूको खोज तथा उद्धार गर्नेछ। यस क्रममा सम्पर्कविहीन रहेका नौ जना दक्षिण कोरियाली नागरिकको खोजीलाई समेत प्राथमिकता दिइनेछ।
यो टोली नेपालमा यसअघि नै परिचालित सरकारी द्रुत प्रतिक्रिया टोलीभन्दा अलग रूपमा काम गर्नेछ। उक्त टोली गत सातादेखि नेपालमै रहेर सम्पर्कविहीन नौ जना दक्षिण कोरियाली नागरिकको खोजीमा सहयोग गर्दै आएको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले मंगलबार सम्बन्धित निकायहरूलाई खोजी कार्यलाई तीव्र बनाउन उपलब्ध भएसम्म थप जनशक्ति र उपकरण परिचालन गर्न निर्देशन दिएका थिए।


मन्त्रिपरिषद्को बैठकमा राष्ट्रपति लीलाई उद्धृत गर्दै कोरिया हेराल्डले भनेको छ, ‘नेपाल सरकार र सम्बन्धित कम्पनीका अधिकारीहरूसँगको सहकार्यमा खोजी कार्यलाई सकेसम्म छिटो अघि बढाउन सबै प्रयास गर्नुहोस्।’

उनले उद्धारकर्मी र हेलिकोप्टरसहित उपलब्ध थप स्रोतसाधन परिचालन गर्न सक्रिय रूपमा पहल गर्न पनि निर्देशन दिएका थिए। नेपाल सरकारले दक्षिण कोरियासँग सहयोग मागेको उल्लेख गर्दै उनले थप स्रोत परिचालनमा जोड दिएका हुन्। लीले उद्धार कार्यमा संलग्न जनशक्तिको सुरक्षामा विशेष ध्यान दिन पनि अधिकारीहरूलाई निर्देशन दिएका छन्। घटनास्थलमा थप बाढी आउन सक्ने जोखिम तथा खराब मौसमजस्ता चुनौतीपूर्ण अवस्था रहेको भन्दै उनले उद्धारकर्मीको सुरक्षालाई प्राथमिकता दिन पनि आग्रह गरेका छन्।

सम्बन्धित खवर