काठमाडौं । चीनको तिब्बतस्थित चिलोङ नाका हुँदै रसुवा, नुवाकोट, धालिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबारे गरिएको अनर्गल प्रचारको काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ । ‘चीनले विपद्को पूर्वसूचना नेपाललाई नदिएको’ भन्ने आरोपमा कुनै सत्यता र वैज्ञानिक तथ्य नरहेको उल्लेख गर्दै नेपालस्थित चिनियाँ दूतावासले नेपाली सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चीनले सम्भावित जोखिमबारे समयमै जानकारी नदिएको भन्दै उठाइएका प्रश्नप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
दूतावासले उपलब्ध प्रविधिको सीमाभित्र रहेर चिनियाँ विज्ञ टोलीले हिमाली क्षेत्रमा निरन्तर निगरानी, जोखिम मूल्यांकन तथा विश्लेषण गर्दै आएको स्पष्ट पारेको छ । चिनियाँ तथा अन्तर्राष्ट्रिय विज्ञहरूको अध्ययनले हिमालय क्षेत्रमा विपद्का जोखिम बिन्दुहरू अत्यन्तै छरिएका र जटिल रहेको देखाएको छ ।
चार हजारदेखि पाँच हजार मिटर वा त्यसभन्दा माथिको उचाइमा रहेका ठूलो संख्याका हिमताल तथा बरफ–चट्टानका संरचना निकै कठिन र अधिकतम चिसो क्षेत्रमा रहेका कारण नियमित स्थलगत सर्वेक्षणमार्फत् तल्लो तटीय क्षेत्रमा जस्तो व्यापक निगरानी गर्न सम्भव नरहेकोतर्फ ध्यान दिन आग्रह गरिएको छ ।
त्यसमाथि ठाडो भिरालो भूभागका भूउपग्रहबाट खिचिएका तस्बिरमा हुने त्रुटि तथा विशाल र जटिल भूगोलमा उच्च शुद्धताका साथ निगरानी गर्नु थप अन्तर्राष्ट्रिय चुनौती रहेको दूतावासले जनाएको छ ।
‘भूकम्पले थप बढायो जोखिम’
२०७२ सालको भूकम्पले नेपालको हिमाली क्षेत्रमा रहेका चट्टानी संरचनामा समेत असर पारेको दूतावासको भनाइ छ । विशेषगरी हिमालयको दक्षिणी ढलानका चट्टानी संरचना भूकम्पबाट प्रभावित भएकाले उच्च हिमाली क्षेत्रमा रहेका चट्टानको स्थिरता र जोखिम अझ अनिश्चित बन्न पुग्यो । सोही कारण हिमाली क्षेत्रमा कुन ठाउँमा, कहिले र कस्तो प्रकृतिको विपद् आउन सक्छ भन्ने पूर्वानुमान आफैँमा जटिल रहेको वैज्ञानिकहरुको निचोड छ ।
तर, यस्ता प्राविधिक चुनौती हुँदाहुँदै पनि चिनियाँ विज्ञ टोलीले उपलब्ध प्रविधिको सीमाभित्र रहेर जोखिमको निगरानी, मूल्यांकन र विश्लेषण गर्दै आएको तथा महत्वपूर्ण सूचना नेपाली पक्षसँग समयमै आदानप्रदान गरेकोमा दूतावासले स्पष्ट पारेको छ ।
सीमापार विपद् सूचनाका लागि संयन्त्र तयारी
चीनले नेपालसँग सीमापार विपद् व्यवस्थापनका विषयमा निरन्तर सम्पर्क र समन्वय गर्दै आएको दूतावासले जनाएको छ ।
गत मेमा चीनको जलस्रोत मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रको जलस्रोत विभागको प्रतिनिधिमण्डलले गरेको नेपाल भ्रमणका क्रममा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सीमापार विपद्सम्बन्धी सूचना आदानप्रदान संयन्त्र स्थापना गर्ने विषयमा महत्वपूर्ण प्रगति भएको दूतावासको भनाइ छ ।
यही अगष्ट महिनामा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको पर्वतीय विपद् तथा वातावरणसम्बन्धी अनुसन्धान संस्थानको विज्ञ टोलीले समेत नेपाल भ्रमण गरेको थियो । टोलीले वैज्ञानिक अनुसन्धान आदानप्रदानका क्रममा हिमतालको निगरानी तथा त्यसबाट उत्पन्न हुनसक्ने जोखिम व्यवस्थापनसम्बन्धी चीनको अनुभव नेपाली पक्षसँग साझा गरेको सन्दर्भबारे जानकारी दिएको छ ।
बाढीलगत्तै भएको थियो आकस्मिक बैठक
चिनियाँ दूतावासले गत बुधबार नेपाल–चीनबीच भएको आकस्मिक समन्वयलाई पनि स्मरण गराएको छ । चीनको मौसम विज्ञान प्रशासनले नेपालको जल तथा मौसम विज्ञान विभागसँग गरेको आकस्मिक भर्चुअल बैठकमा विपद्को अवस्थाबारे मूल्यांकन गर्नुका साथै दुवै पक्षले उपलब्ध तथ्यांक तत्काल आदानप्रदान गरेका थिए ।
चीनले अहिले पनि नेपालसँग जल तथा मौसमसम्बन्धी सूचना निरन्तर साझा गरिरहेको छ । त्यसमा पहिरोका कारण बनेको ‘बाँध ताल’ को निगरानीसम्बन्धी तथ्यांकसमेत रहेको दूतावासले जनाएको छ । त्यसैगरी चीनको मौसम विज्ञान प्रशासनले ‘माचु’ नामक चिनियाँ एआई मौसम पूर्वचेतावनी प्रणालीमार्फत नेपाललाई प्रारम्भिक रूपमा सेवा उपलब्ध गराएको पनि उल्लेख छ ।
‘चीनको नियत र सहयोगमा प्रश्न उठाउनु असंगत’
दूतावासले पछिल्ला गतिविधिले विपद् व्यवस्थापनमा नेपालसँग सहकार्य गर्न चीनले उच्च महत्व दिएको छ । हिमाली क्षेत्रमा विपद्को जोखिम पहिचान र पूर्वानुमानमा रहेका प्राविधिक चुनौतीलाई बेवास्ता गर्दै ‘चीनले पूर्वसूचना दिएन’ भन्ने आरोप लगाउनु वास्तविकता विपरित रहेको दूतावासको ठहर छ ।
सीमापार विपद्को प्रभाव दुवै देशमा पर्नसक्ने भएकाले नेपाल र चीनबीच सूचना आदानप्रदान, वैज्ञानिक अनुसन्धान तथा पूर्वचेतावनी प्रणालीमा सहकार्यलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ । ‘नेपाल र चीनबीच यस क्षेत्रमा हुने आदानप्रदान र सहकार्य आगामी दिनमा अझ गहिरो हुने र यसले दुवै देशका जनताको सुरक्षा तथा हितको अझ राम्रो संरक्षण गर्नेमा हामी विश्वस्त छौँ,’ दूतावासले जनाएको छ।
