वि.सं.२०८३ साउन ११ सोमवार
Dish Home Long Ad
स्पेनका स्टार यमालको बायाँ तिघ्रामा ब्यान्डेज, फाइनलमा के होलान् ?
Prabhu Bank AD

फिफा विश्वकप २०२६ को आइतबार राति हुने फाइनलमा अर्जेन्टिनासँग भिड्न तयारी गरिरहेको स्पेनका लागि स्टार खेलाडी लामिन यमालको फिटनेस ठूलो चासोको विषय बनेको छ । फ्रान्सविरुद्धको सेमिफाइनलपछि उनी लडखडाउँदै मैदानबाट बाहिरिएका थिए भने बिहीबारको प्रशिक्षणमा पनि उनले पूर्ण रूपमा सहभागिता जनाएनन् ।
स्पेनको प्रशिक्षण सत्रमा यमाल उपस्थित भए पनि उनले केवल हल्का स्ट्रेचिङ गरेका थिए । पासिङ र अन्य मुख्य अभ्यासमा भने उनी सहभागी भएनन् । उनको बायाँ तिघ्रामा ब्यान्डेज लगाइएको देखिएको थियो, जसले चोटबारे थप अड्कलबाजी बढाएको छ ।

यद्यपि, स्पेनका प्रशिक्षक तथा टोली व्यवस्थापनले भने यो वर्कलोड व्यवस्थापनको हिस्सा मात्र भएको र यमाल विश्वकप फाइनलका लागि पूर्ण रूपमा उपलब्ध रहने बताएका छन् ।
पुरानै ह्यामस्ट्रिङ चोटको असर ?
यामल विश्वकप सुरु हुनुअघि नै बायाँ ह्यामस्ट्रिङ चोटबाट निको हुँदै प्रतियोगितामा सहभागी भएका थिए । ह्यामस्ट्रिङ चोट सामान्यदेखि गम्भीरसम्म हुन सक्छ र पूर्ण रूपमा निको नभए पुनः बल्झिने जोखिम पनि रहन्छ ।

फ्रान्सविरुद्धको सेमिफाइनलको अन्त्यतिर उनले केलियन एम्बाप्पेलाई रोक्ने क्रममा आफ्नो बायाँ खुट्टा समातेका थिए । त्यसपछि उनले खेल जारी राखे पनि खेलपछि लडखडाउँदै हिँडेको दृश्यले समर्थकहरूलाई चिन्तित बनाएको थियो ।
१९ वर्षीय यमालले यस विश्वकपमा सात खेल खेल्दै १ गोल गरेका छन् भने पाँचवटा गोलका अवसर सिर्जना गरेका छन् ।
अन्तिम निर्णय फाइनलअघि
हालसम्म यमालको वास्तविक अवस्थाबारे कुनै आधिकारिक मेडिकल रिपोर्ट सार्वजनिक गरिएको छैन । त्यसैले उनी पूर्ण रूपमा फिट छन् वा चोट पुनः बल्झिएको हो भन्ने कुरा स्पष्ट भइसकेको छैन ।
यदि चोट सामान्य थकान वा हल्का समस्या मात्र हो भने, फाइनलअघि बाँकी रहेका केही दिनको विश्रामले उनी पूर्ण रूपमा फिट हुन सक्ने अपेक्षा गरिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर