काठमाडौँ । चार दिनदेखि नेपाल–चीन सीमास्थित तातोपानी नाकामा मालवाहक सवारीको आवतजावत ठप्प भएपछि यसबारे चासो बढेको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नवनिर्वाचित सांसद हर्क साम्पाङलेसमेत नाकाको अवरोधलाई लिएर सामाजिक सञ्जालबाट प्रश्न उठाएपछि यसबारे चासो बढेको हो।
तर, तातोपानी भन्सार कार्यालयका भन्सार कार्यालयले चिनियाँ नाका बन्द नभएको स्पट पारेको छ । भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेले सडकको भौगोलिक अवस्था र मर्मत कार्यका कारण यातायात रोकिएको बताए ।
सूचना अधिकारी पाण्डेका अनुसार पछिल्लो तीन–चार दिनदेखि सडकमा आएको अवरोधका कारण मालवाहक कन्टेनरहरू चिनियाँ भूभागमै रोकिएका हुन्
‘माथिबाट पहिरो खसेको र तल सडक खन्ने क्रममा जमिन धसिएकाले बाटो बिग्रिएको हो,’ पाण्डेले भने, ‘पछिल्लो समयको वर्षाले गर्दा झन् समस्या थपियो। यो कुनै नाकाबन्दी होइन, केवल सडक अवरुद्ध भएको हो ।’
उनले सामाजिक सञ्जालमा फैलिएका भ्रामक हल्लाको पछि नलाग्न आग्रह गर्दै सडक मर्मत भइरहेको र छिट्टै बाटो खुल्ने जानकारी दिए ।

