काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेर त्यहाँका सर्वोच्च नेतासहित उच्च पदस्थ नेतृत्वको ठूलो टिमको हत्या गरेपछि इरानले अहिले चौतर्फी प्रतिरोध युद्ध सञ्चालन गरिरहेको छ । उसले अमेरिकाको सुरक्षा छाताभित्र रहेका मध्यपूर्व तथा खाडी मुलुकहरूस्थित अमेरिकी सैन्य बेसमा प्रतिरोध आक्रमण गरेपछि ती देशहरुमा वैदेशिक रोजगारीका लागि गएका २० लाख नेपाली असुरक्षित बनेका छन् ।
अमेरिका र इजरायलले शनिबार अपराह्नबाट इरानको राजधानी तेहरानलगायत विभिन्न शहरहरूमा आक्रमण गरेको थियो। जवाफमा इरानले पनि अमेरिकी सेनाको ‘बेस क्याम्प’ राखिएका यूएई, कतार, साउदी अरबिया, बहराइन, कुवेत, इजरायललगायत देशमा हवाई आक्रमण गरिरहेको छ। यी देश वैदेशिक रोजगारीका लागि नेपालीहरूको मुख्य गन्तव्यमा पर्छन्।
त्यहाँ पुगेका नेपालीले अहिले सुरक्षा साइरन बजिरहेको र मिसाइलहरू खसिरहेको भन्दै भिडियो सामाजिक सञ्जालमा हालिरहेका छन्। दुबई पुलिसले विमानस्थल र दुबई आसपासका क्षेत्रका भिडियो खिचेर सामाजिक सञ्जालमा नहाल्न चेतावनी दिएको छ। त्यस्ता भिडियो नपठाउन पनि भनेको छ।
बीबीसीका अनुसार, शनिबार यूएईको सबैभन्दा ठूलो शहर दुबईस्थित फेयरमोन्ट द पाम होटलमा आक्रमण भएको थियो। दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा समेत मिसाइल प्रहार भएको बताइएको छ। नेपाल सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति आइतबारदेखि स्थगित गरेको छ। ती मुलुक जान विमानस्थल पुगेका श्रमिकलाई र आगामी केही दिनभित्रै त्यता जाने तयारी गरेकालाई पनि सरकारले आफ्नो यात्रा स्थगित गर्न भनेको छ।
खाडी मुलुकमा फैलिएको युद्धले नेपालको रेमिट्यान्स प्रभावित हुने भएको छ। नेपालमा आउने रेमिट्यान्सको अधिक भार खाडी मुलुकका श्रमिकहरूले पठाउँछन्। राष्ट बैंकको तथ्यांकअनुसार, पछिल्लो ६ महिनामा मात्रै १० खर्ब ६२ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ, जसमध्ये करिब ७० प्रतिशत खाडी मुलुकहरूबाट भित्रिएको छ।
आबुधाबीस्थित नेपाली दूतावासको तथ्यांकअनुसार, २०२४ फेब्रुवरीको तथ्यांकमा युएईमा चार लाख ७८ हजार नेपाली कामदार छन्। यसबाहेक करिब १२ सय विद्यार्थीसमेत त्यहाँ छन्। दूतावासले पछिल्लो दुई वर्षको विवरण अद्यावधिक गरेको छैन।
गैरआवासीय नेपाली संघ, युएईका अध्यक्ष विकास शाहीका अनुसार, त्यहाँ स–साना आक्रमणहरू निरन्तरजसो भइरहेका छन्। तर इरानबाट प्रहार गरिएका मिसाइललाई स्थानीय सुरक्षा संयन्त्रले अवरोध (इन्टरसेप्ट) गरिरहेको उनले बताए। उनले भने, “अहिलेसम्म यहाँको अवस्था नियन्त्रणमै रहेको देखिन्छ। तर स–साना मिसाइलहरूबाट आक्रमण भने जारी छ।”
क्षेत्रका अन्य देश कतार, बहराइन, जोर्डन र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा प्रहार गरिएका मिसाइल पनि इन्टरसेप्ट गरिएको ती मुलुकले जनाएका छन्। कतारको दोहास्थित त्यहाँको रक्षा मन्त्रालयलाई उधृत गर्दै खाडी क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा अल–उदेइद एयर बेसमा लक्षित केही मिसाइल अवरोध गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। दोहास्थित नेपाली दुतावासका अनुसार, कतार सरकारले उपलब्ध गराएको पछिल्लो तथ्यांकमा त्यहाँ ३ लाख ६० हजार नेपाली कामदार छन्।
त्यस्तै, बहराइनमा पनि इरानले आक्रमण गरेको छ। राजधानी मनामास्थित अमेरिकी सेनाको मुख्यालय नजिकैको क्षेत्रमा आक्रमण भएको हुनसक्ने समाचार एजेन्सीहरूले जनाएका छन्।
बहराइनस्थित नेपाली राजदूत तीर्थराज वाग्लेका अनुसार, नेपाली दूतावास रहेको इलाका पनि संवेदनशील सुरक्षा क्षेत्रमा पर्छ। बहराइनमा करिब ३० हजार नेपाली कामदार छन्। “हामीले नेपाली कामदारलाई सुरक्षित स्थानमा रहन र कुनै प्रकारको संकटमा तत्काल सम्पर्कमा आउन पनि अनुरोध गर्दै आएका छौँ,” उनले भने।
युद्धको मुख्य पक्षमध्येको एउटा मध्यपूर्वी मुलुक इजरायलमा भने करिब ४५ सय केयर गिभरसहित विद्यार्थी, कृषक गरेर झन्डै आठ हजार नेपाली छन्। केयर गिभरहरू सन् २००१ यता स्थायी श्रमिकका रूपमा बस्दै आएका छन्।
मध्यपूर्वमा तनाव बढेसँगै नेपालबाट खाडी मुलुक जाने आठ वटा एयरलाइन्सका उडान रोकिएका छन्। खाडीसहितका मुलुकमा रोजगारीका लागि जान लागेका कम्तीमा दुई हजार यात्रु शनिबारदेखि काठमाडौँ विमानस्थलमै रोकिएका छन्।
“मध्यपूर्व क्षेत्रको हालैको हवाई क्षेत्र प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ, पुनःतालिका वा रद्द हुन सक्ने सम्भावना छ। यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि विमान सेवा कम्पनीहरूसँग आफ्नो उडानको पछिल्लो अवस्था अनिवार्य रूपमा पुष्टि गर्न अनुरोध गरिन्छ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
इरानमाथि इजरायल र अमेरिकाले संयुक्त सैन्य आक्रमण शुरू गरेपछि शनिबार नेपाल सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न र सुरक्षा सचेतना अपनाउन पनि अनुरोध गरेको छ।
कतार, यूएई, साउदी अरब, कुवेत, इराक, बहराइनसहित इजरायलमा रहेका नेपालीलाई सम्बन्धित देशले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी निर्देशन तथा सूचनाहरू कडाइका साथ पालना गर्न सरकारको आग्रह छ। सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरूले पनि स्थानीय सुरक्षा निकायका अधिकारीले दिएका निर्देशनहरूको पूर्ण पालना गर्न र सुरक्षित रहन आग्रह गरेका छन्।
अबुधाबीस्थित नेपाली राजदूतावासले नेपाली नागरिकहरूलाई अनावश्यक यात्रामा ननिस्कन र सावधानी अपनाउन भनेको छ। आपतकालमा सहयोग लिन नेपाली राजदूतावास अबुधाबी र नेपाली महावाणिज्य दूतावास दुबईमा सम्पर्क गर्न भनिएको छ।
“मध्यपूर्वमा विकसित परिस्थितिका सन्दर्भमा संयुक्त अरब इमिरेट्समा रहनुभएका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रामा ननिस्कन, सावधानी अपनाउन, युएई सरकारले जारी गरेको सुरक्षा मार्गदर्शन एवं सूचनाहरूको पालना गर्न अनुरोध गरिन्छ,” दूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ।
यता, सामाजिक सञ्जालमा फागुन २१ को निर्वाचन रोकेर तत्काल युद्धमा फसेका नागरिकहरुको उद्दार गर्न आवाज उठिरहेको छ । निर्वाचनमा गर्ने खर्च युद्धमा फसेका नागरिकहरुको उद्दारमा लगाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा आवाज उठिरहेको छ ।

