जनकपुर । छठ पर्वको तयारी र उल्लासमा रमाउनुपर्ने सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ स्थित सुन्दरपुर गाउँ यतिबेला गहिरो शोकमा डुबेको छ । छठ मनाउन काठमाडौँबाट घर फर्किंदै गरेका स्थानीयवासी सवार विद्युतीय गाडी (इभी) मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा दुर्घटना हुँदा एकै गाउँका ११ जनाको ज्यान गएपछि सुन्दरपुर शोकाकूल बनेको हो ।
दुर्घटनाको खबर फैलिएसँगै गाउँमा छठको चहलपहल एकाएक रोकिएको छ । पर्वका लागि घर घरमा हुनुपर्ने तयारीको ठाउँमा रुवाबासी र सन्नाटा छाएको छ । मृतकका कतिपय घर सुनसान छन् भने परिवारका सदस्य गुमाएका घरमा आफन्त र छिमेकीको भीड लागेको छ ।
दुर्घटनामा ज्यान गुमाउने अधिकांश सुन्दरपुरका बासिन्दा काठमाडौँमा फलफूल तथा तरकारीको व्यापार गर्दै आएका थिए । छठ पर्व मनाउन परिवारसहित गाउँ फर्किने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा स्थानीय निरसु रायले छोरा, नाति र भतिज गुमाएका छन् । उनका ४० वर्षीय छोरा राकेश राय,१४ वर्षीय नाति रोहन राय र २७ वर्षीय भतिज सुबोध रायको दुर्घटनामा मृत्यु भएको हो । एउटै घरका तीन सदस्य गुमाएपछि निरसु राय घरअगाडि टोलाएर बसिरहेका छन् । परिवारका सदस्य गुमाउँदाको पीडा उनको अनुहारमा प्रस्ट देखिन्छ ।
त्यस्तै,दुर्घटनामा सुन्दरपुरटोलका २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनम यादव,सात वर्षीया दीक्षा यादव, पाँच वर्षीया दीपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३५ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्रीदेवी, २६ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि ज्यान गएको छ ।
मृतक पुनम यादव अवधेश यादवकी श्रीमती थिइन् भने दीक्षा, दीपिका र अनुकुमारी उनका छोरी थिए । त्यस्तै, गायत्रीदेवी गुड्डु यादवकी श्रीमती थिइन् । एउटै परिवारका सदस्य तथा कलिला बालबालिकासमेत दुर्घटनामा परेर ज्यान गुमाएपछि गाउँमा शोक थप गहिरिएको छ ।
स्थानीय अवधेश यादवको परिवारमा त झन् ठूलो बज्रपात परेको छ । उनको परिवारका छ जनाको दुर्घटनामा मृत्यु भएको छ । सुन्दरपुरस्थित उनको घर अहिले सुनसान छ । घरमा गाउँले र आफन्तको आउजाउ बढेको छ । परिवारका सदस्य गुमाएको खबरपछि उनकी आमा पनि हेटौँडा पुगेकी छन् ।
स्थानीय प्रमोद यादवले पनि छोरा, बुहारी र नाति गुमाएका छन् । परिवारका तीन सदस्य गुमाएपछि उनी घरबाहिर टाउकोमा हात राखेर बसिरहेका छन् । गाउँका धेरै परिवारमा यस्तै पीडा छाएको छ ।
स्थानीय अबुल हसन नुरीका अनुसार गाउँलेहरू यतिबेला छठ पर्वको उल्लासमा रमाउन सक्ने अवस्थामा छैनन् । चाडपर्वको समयमा छिमेकी र आफन्त गुमाउनुपर्दा सिंगो गाउँ नै शोकमा परेको उनले बताए ।
स्थानीय सुनिल यादवले दुर्घटनापछि गाउँमा सन्नाटा छाएको बताए । उनका अनुसार गाउँका चोक तथा बस्तीमा मानिसहरू भेला भएर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झना गरिरहेका छन् ।
छठ पर्वमा घर फर्किने प्रतीक्षामा रहेका परिवारले एकैपटक आफ्ना प्रियजन गुमाउनुपरेपछि सुन्दरपुरको खुशी शोकमा बदलिएको छ ।


