वीरगंज । सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा गरिएको अनिश्चितकालीन तालाबन्दी सहमतिपछि खोलिएको छ।
सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणका लागि गठित सदस्यता शुद्धीकरण संघर्ष समितिले २०८३ जेठ १५ गते वीरगंज महानगरपालिका–१२, ब्रह्मचोकस्थित नेपाल पत्रकार महासंघ पर्साको कार्यालयको मूलगेटमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो। संघर्ष समितिका संयोजक अनुप तिवारीको नेतृत्वमा करिब १०/१२ जनाको उपस्थितिमा गरिएको तालाबन्दी सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणको प्रक्रिया अघि बढाउनुपर्ने मागसहित गरिएको थियो।
तालाबन्दी खोल्ने सम्बन्धमा २०८३ असोज ५ गते नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल र सदस्यता शुद्धीकरण संघर्ष समितिका संयोजक अनुप तिवारीबीच सहमति भएको हो। सहमतिअनुसार एक महिनाभित्र कार्यदल गठन गरी सदस्यता शुद्धीकरण तथा अभिलेखीकरणको प्रक्रिया अघि बढाइनेछ।
उक्त सहमतिपछि संघर्ष समितिले महासंघको कार्यालयमा लगाएको तालाबन्दी हटाएको हो। सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणसम्बन्धी मागलाई सम्बोधन गर्न भएको यस सहमतिले महासंघभित्रको विवाद समाधानका लागि संवाद र सहकार्यको वातावरण निर्माण गरेको छ।
अब सहमतिअनुसार कार्यदल गठन गरी सदस्यता शुद्धीकरण तथा अभिलेखीकरणको प्रक्रिया अघि बढाउने जिम्मेवारी नेपाल पत्रकार महासंघ पर्सा शाखाको नेतृत्वमाथि आएको छ।
