डिबि कार्की
रौतहटको परोहा नगरपालिका–९ रामपुरखापस्थित नेपाल–भारत सीमा क्षेत्रमा बन्द रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै जारी रिले अनशनबाट तीन जना आमरण अनशनमा बसेका छन्। २०८३ भदौ २५ गतेदेखि सुरु भएको रिले अनशनका क्रममा भदौ २९ गते साँझदेखि नेपाल सिमाना संघर्ष समिति उपाध्यक्ष सायहेव साह कानु, नेपाल मुस्लिम शान्ति समाजका अध्यक्ष ममि अख्तर जामि र संघर्ष समिति सदस्य शहिद एकवाल आमरण अनशनमा बसेका हुन्। स्थानीयवासीले लामो समयदेखि बन्द रहेको नाका पुनः सञ्चालन गरी सीमावर्ती आवतजावत र व्यापारिक गतिविधि सहज बनाउन माग गर्दै आएका छन्।
रामपुरखाप नाका रौतहटको परोहा नगरपालिका–९ मा नेपालतर्फ र भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण क्षेत्रको घोडासहन आसपास जोडिने सीमावर्ती क्षेत्रमा पर्छ। उपलब्ध विवरणअनुसार रामपुरखाप छोटी भन्सार गौर र बंकुल भन्सार नाकाको बीचमा रहेको स्थानीय महत्वको सीमा बिन्दु हो। भारततर्फको घोडासहन बजार क्षेत्रसँग यसको निकट सम्बन्ध रहेको र सीमावर्ती नेपाली बासिन्दाका लागि दैनिक उपभोग, पारिवारिक सम्बन्ध, उपचार तथा अन्य आवश्यक कामका लागि आवतजावत गर्ने पुरानो मार्गका रूपमा यसको प्रयोग हुँदै आएको छ।
रामपुरखाप छोटी भन्सार विगतमा सञ्चालनमा रहे पनि सशस्त्र द्वन्द्वका क्रममा सुरक्षाको कारण देखाउँदै जिल्ला भन्सार कार्यालय गौरमा गाभिएको र त्यसयता पुनःस्थापना हुन नसकेको स्थानीयको भनाइ छ। नाका सञ्चालनमा नआउँदा सीमावर्ती सर्वसाधारणलाई आवतजावत तथा साना व्यापारिक कारोबारका लागि गौरलगायत अन्य नाका पुग्नुपर्ने अवस्था रहेको बताइएको छ। स्थानीयले छोटी भन्सार पुनः सञ्चालन भए सीमावर्ती जनताको दैनिक जीवन सहज हुनुका साथै वैधानिक व्यापार प्रवर्द्धन र सरकारी राजस्व संकलनमा समेत योगदान पुग्ने अपेक्षा गरेका छन्।
