वि.सं.२०८३ भदौ २९ सोमवार
Dish Home Long Ad
भावी प्रधानसेनापतिको चर्चामा रहेका अनुपजङ थापालाई दोहोरो जिम्मेवारी

काठमाडौ । नेपाली सेनाका उपरथी अनुपजङ थापालाई नीति महानिर्देशनालयको महानिर्देशकको समेत जिम्मेवारी दिइएको छ। यसअघि नै उनी नेपाली सेनाको रणनीतिक तथा महत्वपूर्ण मानिने युद्धकार्य महानिर्देशनालयको महानिर्देशकका रूपमा कार्यरत छन्। नयाँ जिम्मेवारीसँगै थापाको कार्यक्षेत्र र संस्थागत भूमिकासमेत थप फराकिलो भएको छ।

थापालाई नीति महानिर्देशनालयको जिम्मेवारीसमेत सुम्पिनुलाई सैनिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। युद्धकार्यसँगै नीति निर्माण तथा रणनीतिक विषयमा समेत प्रत्यक्ष भूमिका निर्वाह गर्ने अवसरलाई उनको व्यावसायिक क्षमता, नेतृत्वदक्षता र उच्च तहको जिम्मेवारी सम्हाल्ने क्षमतासँग जोडेर विश्लेषण गरिएको छ। विशेषगरी भावी प्रधानसेनापतिको सम्भावित दाबेदारका रूपमा उनको नाम चर्चामा रहँदै आएको अवस्थामा यो जिम्मेवारीलाई थप महत्वका साथ हेरिएको हो।

थापा पछिल्लो समय भावी प्रधानसेनापतिको दौडमा बलियो सम्भावनाका रूपमा प्रस्तुत हुँदै आएका छन्। दुई महत्वपूर्ण महानिर्देशनालयको जिम्मेवारी एकैसाथ प्राप्त हुनुलाई उनलाई आगामी नेतृत्वका लागि थप अनुभवी र सक्षम बनाउने रणनीतिक अभ्यासका रूपमा समेत सैनिक वृत्तमा चर्चा गरिएको छ। त्यसैले पछिल्लो जिम्मेवारीले थापाको भावी प्रधानसेनापतिको सम्भावनालाई थप बल पुगेको विश्लेषण हुन थालेको छ।

सम्बन्धित खवर