वि.सं.२०८३ मंसिर ८ सोमवार
Shivam
Dish Home Long Ad
TaTa
अनुहार नमिलेपछि रोकियो जेनजी स्मृति पार्क उद्घाटन

‎ललितपुर । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको जेनजी स्मृति पार्कको औपचारिक उद्घाटन कार्यक्रम शहीद परिवारको आपत्तिपछि रोकिएको छ। गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनाको स्मृतिमा निर्माण गरिएको पार्क उद्घाटनका लागि गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनील लम्साल कार्यक्रमस्थल पुगेका थिए।
‎

‎तर उद्घाटनअघि शहीदका परिवार तथा आफन्तहरूले निर्माण गरिएका सालिकका अनुहार वास्तविक शहीदहरूको अनुहारसँग नमिलेको भन्दै आपत्ति जनाए। उनीहरूले सालिक निर्माणमा लापरबाही भएको र परिवारको सहमतिबिना उद्घाटन गर्न खोजिएको भन्दै असहमति जनाएका थिए।
‎

‎शहीद श्रीराम चौलागाईंका बुवा गणेशप्रसाद चौलागाईंका अनुसार परिवारहरूले गृहमन्त्री गुरुङसमक्ष सालिकको अनुहार नमिलेको विषयमा गुनासो राखेपछि उद्घाटन तत्काल नगर्ने सहमति भएको हो। उनका अनुसार सालिकहरू वास्तविक अनुहारसँग मिल्ने गरी सुधार गरेर करिब एक महिनापछि पुनः उद्घाटन गर्ने समझदारी भएको छ।
‎

‎परिवारको असन्तुष्टिपछि गृहमन्त्री गुरुङ पार्क उद्घाटन नगरी फर्किए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पनि सालिक पूर्ण रूपमा तयार नभएसम्म हतारमा अनावरण गर्न नहुने धारणा राखेका छन्।

‎करिब दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कमा ४५ जना जेनजी शहीदका अर्धकदका सालिक राखिएका छन्। सरकारले पार्कलाई शहीदहरूको स्मृति, योगदान र इतिहासलाई जीवन्त राख्ने उद्देश्यले निर्माण गरेको जनाएको छ। तर उद्घाटनकै दिन सालिकको स्वरूपलाई लिएर उठेको विवादले स्मारक निर्माणमा परिवारको सहभागिता, पहिचानको सम्मान र निर्माणको गुणस्तर कति महत्वपूर्ण हुन्छ भन्ने प्रश्नसमेत उठाएको छ।

Agni

सम्बन्धित खवर