वि.सं.२०८३ असोज ६ मंगलवार
Dish Home Long Ad
‎*खोटाङमा फुटसल मैदान निर्माणका क्रममा भेटियो द्वन्द्वकालीन ‘नेपोलाइट’ विस्फोटक पदर्थ

‎डिवी कार्की
‎खोटाङ, भदौ २२ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित तत्कालीन सुरक्षा बेसक्याम्प रहेको स्थानमा फुटसल मैदान निर्माणका लागि जमिन खन्ने क्रममा द्वन्द्वकालीन विस्फोटक पदार्थ फेला परेको छ। भदौ २१ गते स्थानीयले फुटसल ग्राउन्डको पर्खाल निर्माणका लागि जमिन सम्याउने क्रममा करिब २०० ग्राम तौलको ‘नेपोलाइट’ नामक विस्फोटक पदार्थ फेला पारेका हुन्।

‎सशस्त्र द्वन्द्वका समयमा सुरक्षा प्रयोजनका लागि प्रयोग गरिएको उक्त स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त बेसक्याम्प रहेको थियो। शान्ति प्रक्रियापछि लामो समयअघि नै सुरक्षा क्याम्प अन्यत्र सारिए पनि त्यसबेला राखिएका विस्फोटक पदार्थ तथा अन्य सुरक्षा सामग्री जमिनमुनि बाँकी रहेको हुनसक्ने देखिएको छ। निर्माण तथा खेतीपातीका क्रममा यस क्षेत्रमा यसअघि पनि द्वन्द्वकालीन विस्फोटक पदार्थ भेटिँदै आएका स्थानीयले बताएका छन्।

‎विस्फोटक पदार्थ भेटिएपछि तत्कालै सम्बन्धित सुरक्षा निकायलाई खबर गरी उक्त क्षेत्रलाई सुरक्षित बनाइएको थियो। साँझको समयमा फेला परेकाले सोही दिन विस्फोटक निष्क्रिय पार्न प्राविधिक तथा सुरक्षाका दृष्टिले कठिन भएपछि नेपाली सेनाको टोलीले आवश्यक सुरक्षा प्रबन्ध मिलाएर भदौ २२ गते बिहान डिस्पोज गरेको हो।
‎रणभीम गण, मुडे ब्यारेकका गणपति प्रमुख सेनानी पवन कार्कीका अनुसार नेपाली सेनाको रणभीम गणबाट खटिएको बम डिस्पोजल टोलीले माथिल्लो निकायको अनुमतिपछि उक्त करिब २०० ग्रामको ‘नेपोलाइट’ सुरक्षित स्थानमा लगेर निष्क्रिय गरेको हो। विस्फोटक पदार्थको सम्भावित जोखिमलाई ध्यानमा राख्दै फेला परेको स्थानबाट टाढा सुरक्षित क्षेत्रमा लगेर डिस्पोज गरिएको थियो।

‎द्वन्द्व अन्त्य भएको लामो समय बितिसक्दा पनि तत्कालीन सुरक्षा क्याम्प रहेका स्थानमा जमिनमुनि रहेका विस्फोटक पदार्थ फेला पर्नुले द्वन्द्वकालीन सुरक्षा अवशेष व्यवस्थापन अझै पूर्ण रूपमा टुंगिन नसकेको देखाउँछ। विशेषगरी निजी जग्गामा निर्माण, सडक विस्तार तथा अन्य भौतिक संरचना निर्माणका क्रममा यस्ता सामग्री भेटिँदा स्थानीयको सुरक्षामा जोखिम उत्पन्न हुनसक्ने भएकाले पुराना सुरक्षा क्याम्प रहेका क्षेत्रको पहिचान तथा आवश्यक सुरक्षा जाँचलाई थप प्राथमिकता दिनुपर्ने देखिन्छ।

सम्बन्धित खवर