नुवाकोट । बाढीपहिरोका कारण सडक सञ्जालबाट विच्छेद भएको नुवाकोटको विदुरस्थित तादी खोलामा नेपाली सेनाले यातायात पुनःसञ्चालनका लागि ‘एक्रो ब्रिज’ जडान कार्यलाई तीव्रता दिएको छ।
क्षतिग्रस्त पुलका कारण आवागमन प्रभावित भएपछि नेपाली सेनाले वैकल्पिक यातायात सम्पर्क पुनःस्थापित गर्ने उद्देश्यले अस्थायी पुल जडानको काम अघि बढाएको हो। सेनाको प्राविधिक तथा जनशक्ति टोलीले आवश्यक उपकरणसहित पुल जडानमा निरन्तर काम गरिरहेको छ।
एक्रो ब्रिज सञ्चालनमा आएपछि विदुर तथा आसपासका क्षेत्रमा अवरुद्ध यातायात सहज हुनुका साथै स्थानीय बासिन्दाको दैनिक आवागमन, खाद्यान्न तथा अत्यावश्यक सामग्रीको ढुवानी र विपद् उद्धार तथा राहत कार्यमा समेत सहजता आउने अपेक्षा गरिएको छ।
बाढीका कारण सडक तथा पुलमा पुगेको क्षतिले प्रभावित बनेको यातायात सम्पर्कलाई यथाशीघ्र पुनःस्थापित गर्न सेनाले गरिरहेको यो कामले विपद्को समयमा राज्यको उद्धार तथा पुनःस्थापना क्षमतासमेत देखाएको छ।
