वि.सं.२०८३ भदौ २८ आइतवार
Dish Home Long Ad
होटल व्यवसायीलाई आवश्यक ग्यास आफैँ आयात गर्न आग्रहः मन्त्री यादव

काठमाडौ । कृष्णभीरमा गएको बाढीका कारण सडक अवरुद्ध हुँदा ग्यास आयात तथा ढुवानी प्रभावित भएको अवस्थामा होटल व्यवसायीलाई आवश्यक ग्यास आफैँ आयात गर्नसमेत मन्त्री यादवले आग्रह गरिन्। त्यसका लागि सुरक्षालगायत आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको उनले बताइन्।

उद्योगमन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गरेकी छन्।
बाढीका कारण पछिल्लो केही दिनदेखि काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा ग्यास आपूर्ति असहज बनेपछि मन्त्रालयमा होटल व्यवसायीसँग छलफल गर्दै मन्त्री यादवले उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेकी हुन्।
मन्त्री यादवले होटल व्यवसायका लागि छुट्टै र घरायसी प्रयोजनका लागि छुट्टै सिलिन्डरको व्यवस्था गर्न मन्त्रालय र नेपाल आयल निगमले काम अघि बढाइसकेको जानकारी दिइन्। होटलमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने ग्यासको सिलिन्डर ठूलो बनाउनुपर्ने प्रस्तावसमेत उनले अघि सारिन्।

उनले होटल व्यवसायलाई बन्द गराउने सरकारको कुनै सोच नरहेको स्पष्ट पार्दै देशको अर्थतन्त्र र पर्यटन क्षेत्र चलायमान बनाउन होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताइन्। छलफलमा नेपाल आयल निगमका महाप्रबन्धक नागेन्द्र शाहले ग्यास आयात तथा ढुवानीलाई सहज बनाउन होटल व्यवसायीहरू आफैंले समेत सवारीसाधनको व्यवस्था गरेर ग्यास ढुवानीमा सहयोग गर्न आग्रह गरे।
शाहले पछिल्लो अवस्थाका कारण कतिपय उपभोक्ता लामो समयसम्म ग्यास नपाएर समस्यामा परेको जानकारी आएको बताउँदै यस्तो अवस्था दोहोरिन नदिन होटल व्यवसायीलाई पनि सहजीकरण गर्न आग्रह गरे। उनले होटल प्रयोजनका लागि प्रयोग हुने ग्यास सिलिन्डरको तौल बढाउने विषयमा समेत छलफल आवश्यक रहेको बताएका थिए। छलफलमा होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले अहिले पनि बढी रकम तिरेपछि मात्र ग्यास पाउने अवस्था रहेको भन्दै ग्यासमा कालोबजारी भइरहेको गुनासो गरे।सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै ग्यास सिलिन्डरको व्यवस्था गर्न थालेको भन्दै मन्त्री यादवले आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाइन्।

होटल प्रयोजनका लागि ग्यास सिलिन्डर १९ केजी बनाउने विषयमा भने व्यवस्थापन पक्षलाई व्यवस्थित बनाएर मात्र अघि बढेमा आफूहरूको साथ रहने उनको भनाइ छ।

सम्बन्धित खवर