काठमाडौँ, भदौ १० गते।
रसुवा जिल्लाको भोटेकोशी नदीमा मंगलबार बिहान अकस्मात् आएको बाढीबाट ठूलो धनजनको क्षति भएकोप्रति प्राध्यापक संघ–संगठनहरूले गहिरो दुःख व्यक्त गरेका छन्। विभिन्न ७ वटा प्राध्यापक संघ–संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बाढीपीडितको उद्धार, खोज तथा उपचार कार्यमा तत्काल जुट्न सरकार र सरोकारवाला निकायहरूसँग हार्दिक अपिल गरेका हुन्।
प्राध्यापक संघ–संगठनहरूले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको तत्काल खोज, उद्धार र निःशुल्क उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेका छन्। विपत्तिमा उद्धार, स्वास्थ्य उपचार तथा राहत कार्यमा संलग्न सबै क्षेत्रको प्रशंसा गर्दै विज्ञप्तिमा भनिएको छ, “त्रिशुली नदीलगायत देशका सबै खोलानालाका किनारमा बाढीको जोखिममा रहेका बस्तीहरूबाट धनजनलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई प्राथमिकता दिन आग्रह गर्दछौँ।”
यसैगरी, उद्धारका क्रममा विदेशी सहयोग आवश्यक पर्ने भएमा सो कार्यका लागि सङ्घीय सरकारको संयोजनमा ‘एकद्वार नीति’ लागू गर्नसमेत उनीहरूले आह्वान गरेका छन्।
विज्ञप्तिमार्फत सम्पूर्ण प्राध्यापक वर्गलाई आ-आफ्नो ठाउँबाट भौतिक रूपमा उद्धारमा जुट्न र सक्दो आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ।
संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा:
१. प्रा.डा. रमेश कुमार जोशी – सभापति, नेपाल प्राध्यापक संघ
२. प्रा.डा. वसन्त ढकाल – सभापति, त्रिवि प्राध्यापक संघ
३. सहप्रा. विष्णुप्रसाद गौतम – का.वा. अध्यक्ष, प्रजातन्त्रवादी प्राध्यापक संघ
४. सहप्रा. पदमप्रसाद खतिवडा – अध्यक्ष, नेपाल प्रगतिशील प्राध्यापक संगठन
५. प्रा.डा. बालमुकुन्द रेग्मी – अध्यक्ष, नेपाल राष्ट्रिय प्राध्यापक संगठन
६. प्रा.डा. गोविन्द सुवेदी – अध्यक्ष, एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपाल
७. प्रा.डा. जगदीश चन्द्र भण्डारी – अध्यक्ष, नेपाल राष्ट्रिय प्राध्यापक संगठन
