काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अकस्मातको भीषण बाढीले ठूलो जनधनको क्षति भएको छ । ऊर्जा हब मानिने रसुवा र नुवाकोट जिल्लाका १३ वटा प्रमुख जलविद्युत आयोजनाहरूमा व्यापक क्षति पुगेको छ ।
जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत प्राधिकरण (नेविप्रा) तथा ऊर्जा प्रवद्र्धक कम्पनीहरूबाट प्राप्त प्रारम्भिक तथ्यांकअनुसार कुल ७४८।१२ मेगावाट क्षमताका आयोजनाहरू बाढीको प्रत्यक्ष चपेटामा परेका छन् । यसमध्ये सञ्चालनमा रहेका ८ वटा आयोजनाबाट उत्पादन भइरहेको ३५४।१ मेगावाट विद्युत राष्ट्रिय ग्रिडबाट विच्छेद भएको जनाइएको छ ।
त्यस्तै, ३९४ मेगावाटका ५ निर्माणाधीन आयोजनाका सिभिल तथा हाइड्रोमेकानिकल संरचना क्षतिग्रस्त बनेका छन् । बाढीसँगै नदीमा आएको अत्यधिक बालुवा, लेदो र जलमग्नताका कारण सञ्चालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नुपरेको छ ।
रसुवा जिल्लामा निजी क्षेत्रबाट सञ्चालित १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, २२ मेगावाटको चिलिमे र २० मेगावाटको लाङटाङ खोला गरी २३१ मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।
त्यसैगरी, नुवाकोटतर्फ विद्युत प्राधिकरण मातहतका ४ सरकारी आयोजनाहरू–६० मेगावाटको माथिल्लो त्रिशूली–३ए, २४ मेगावाटको ऐतिहासिक त्रिशूली जलविद्युत, १४।१ मेगावाटको देवीघाट र २५ मेगावाटको नुवाकोट ग्रिड सोलार गरी कुल १२३।१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । एकैपटक ३५४ मेगावाटभन्दा बढी उत्पादन रोकिँदा काठमाडौं उपत्यका र आसपासका औद्योगिक कोरिडोरमा विद्युत व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ ।
बाढीले निर्माणाधीन जलविद्युत आयोजनाहरूमा अझ बढी विध्वंश मच्चाएको छ । रसुवामा निर्माण भइरहेको २१६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको निजी आयोजना ‘माथिल्लो त्रिशूली–१को पहुँचमार्ग, एडिफ टनेल र साइट क्याम्पमा ठूलो क्षति पुगेको छ ।
यसैगरी, १२० मेगावाटको रसुवा–भोटेकोशी र ६।४२ मेगावाटको माथिल्लो मैलुङ–ए का बाँध र पेनस्टक संरचना बाढीले बगाएको छ । रसुवामा मात्रै निर्माणाधीन ३ वटा आयोजनाको ३४२।४२ मेगावाट क्षमता प्रभावित भएको छ ।
नुवाकोटतर्फ ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी ९जनताको जलविद्युत कार्यक्रम० र १५।६ मेगावाटको मिडल त्रिशूली गंगा गरी ५२।६ मेगावाटका २ आयोजनामा बाढी पसेर सिभिल संरचना तथा निर्माण सामग्री नष्ट भएका छन् ।
तथ्यांक विश्लेषण गर्दा बाढीको सर्वाधिक मार निजी ऊर्जा प्रवद्र्धकहरूमाथि परेको देखिन्छ । कुल १३ आयोजनामध्ये ९ वटा निजी क्षेत्रका प्रवद्र्धक कम्पनीहरूका रहेका छन्, जसको कुल क्षमता ६२५ मेगावाट ९८३।५५० रहेको छ । सरकारी स्वामित्वअन्तर्गत नुवाकोटमा रहेका ४ वटा सञ्चालित आयोजनाहरूको १२३।१ मेगावाट ९१६।५५० क्षमता प्रभावित भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० ले प्रारम्भिक अनुमानअनुसार निजी क्षेत्रका हाइड्रोपावरमा मात्र ५ अर्ब रुपैयाँभन्दा बढीको भौतिक नोक्सानी भएको जनाएको छ । त्रिशूली–काठमाडौं प्रशारण लाइन तथा स्याफ्रुबेँसी–रसुवागढी जोड्ने पासाङल्हामु राजमार्ग दर्जनौँ ठाउँमा पहिरोले अवरुद्ध भएकाले आयोजना स्थलसम्म प्राविधिक टोली र हेभी उपकरण पुर्याउन कठिन भएको छ ।
लाङटाङ खोला आयोजनाको २ वटा ट्रान्समिसन टावर ढलेका छन् भने माथिल्लो त्रिशूली–३ए को स्विचयार्ड नजिकैको डाँडो भासिएकाले तत्काल रोकथामको काम थालिएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार पहिरो सफा गर्ने र नदीको सतह घट्ने बित्तिकै आकस्मिक मर्मत गरी १ देखि ३ हप्ताभित्र सञ्चालनमा रहेका आयोजनाहरूबाट क्रमशः बिजुली उत्पादन शुरु गरिनेछ ।
