बञ्चरेडाँडा । नुवाकोट बञ्चरेडाँडामा सरकारले अर्बभन्दा बढी लगानीमा २० वर्षका लागि बनेको बञ्चरेडाँडा ल्यान्डफिल ४ वर्षमै भरिएको छ । फोहोरको चुलीबाट लिचेट बगिरहेको छ । ड्याम्प भरिएर लिचेट खोलामा मिसिएको छ । हावाले दुर्गन्ध घरघरमा पुर्याउँछ । काग र चिलले सिनो आँगनमा खसाउँछ ।
यो सिसडोल–बञ्चरेडाँडा क्षेत्रमा काठमाडौं उपत्यकाको फोहोर खसाउन थालेपछि त्यहाँका स्थानीय हरकसँगै जीवन जिउन विवश छन् । ‘हरकसँगै नरकको जीवन बाँचिरहेका छौँ,’ ध्रुवप्रसाद उप्रेती (७६) ले फोहोरका कारण पाएको सास्ती सुनाउँदै प्रश्न गर्न थाले, ‘काठमाडौंका मात्र मान्छे ? हामी मान्छे होइनौं ? फोहोर र मान्छे सँगै राख्न मिल्छ त ?’
फोहोर र मान्छे सँगै नराख्ने योजनासहित धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमाना बञ्चरेडाँडामा विगत ४ वर्षदेखि फोहोर विर्सजन गर्न थालियो । पहिलो सेलको निर्माण सकिएपछि २०७९ जेठ १० गतेबाट बञ्चरेडाँडामा फोहोर खसाउन थालिएको हो ।

