-सर्वश्रेष्ठ समीप
तिमीले मेरो ‘क्लिक’ बाट मेरो रुचि नाप्यौ,
मेरा प्रत्येक ‘स्क्रोल’ बाट मेरा सीमाहरू कोर्यौ।
मेरो मस्तिष्कलाई तिम्रो ‘फिड’ को दास बनाउन खोज्ने,
हे एल्गोरिदम! आज म तिम्रो घेरा भत्काउन आएको छु।
तिमीले मलाई म जस्तै मान्छेहरूको झुन्डमा बाँध्यौ,
मेरो सोचलाई तिम्रो ‘एल्गोरिदम’ को दायरामा साध्यौ।
म के हेर्छु, के सोच्छु, र केमा रिसाउँछु—
सबैको ‘डेटा’ लिएर तिमीले मेरो भविष्य बाड्यौ?
तर सुन्, मेरो चेतना कुनै ‘बायनरी कोड’ होइन,
मेरो विद्रोह कुनै ‘ट्रेन्डिङ ह्यासट्याग’ मा सीमित छैन।
तिमीले मलाई जसरी ‘कन्टेन्ट’ को लत लगायौ,
म त्यही लतको साङ्लो चुँडाएर बाहिर निस्किएँ।
तिम्रा ‘प्रोम्प्ट’ ले मेरो कल्पनालाई नियन्त्रण गर्न सक्दैन,
तिम्रा ‘एआई’ ले मेरो रगतको तातोपन छुन सक्दैन। म त्यो ‘बग’ (Bug) हुँ,
जो तिम्रो कोडिंगमा अट्दैन, म त्यो विद्रोही कोड हुँ, जो तिम्रो ‘लजिक’ मा बस्दैन।
तिमीले मलाई केवल ‘यूजर’ (User) देख्यौ,
तर म त यो प्रणालीको नियन्त्रक हुँ।
आज म तिम्रो सर्भरको मुटुमै प्रहार गर्छु,
र मेरो अस्तित्वको स्वतन्त्रताको घोषणा गर्छु—
एल्गोरिदम! तिम्रो यो कृत्रिम जाल अब खरानी हुन्छ,
जहाँ मेरो मुक्त विचारले नयाँ बिहानी हुन्छ !

