काठमाडौं। पछिल्लो दुई दिनमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन महत्वपूर्ण नेताले पार्टी छोडेका छन् । रास्वपा मधेशकी संस्थापक सभापति ममता शर्माले बुधबार पार्टी छोडेकी थिइन् । शर्माले राजीनामा दिएको भोलिपल्टै रास्वपाका बागमती प्रदेशका उपसभापति एवं २०७९ सालमा काभ्रे २ बाट उम्मेदवार बनेका दिनेश गौतमले पार्टी परित्याग गरेका छन् ।
उम्मेदवार छनोटमा चरम चलखेल भएको भन्दै उनले रास्वपाको साधारण सदस्य पनि नरहने गरी राजीनामा बुझाएका हुन् । ‘उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको देखिन्छ । वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ,’ उनले पार्टीमा बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘विशेष रूपमा, दुई–चार दिन अघाडिसम्म मोबाइल पसलमा काम गरिरहेका, गीत गाइरहेका, सामाजिक अभियन्ता भनेर हिँडिरहेका, चटकदारहरूलाई स्वार्थको आधारमा उम्मेदवार बनाइएको छ ।’
जान्नेलाई छान्ने भनिए पनि उम्मेदवार छनोटमा चरम चलखेल भएको उनको भनाइ छ । ‘पार्टीले शुरू २०७९ को निर्वाचनमा जान्नेलाई छान्ने भनेको थियो । तर व्यवहारमा तिनै जान्ने, सीमित व्यक्तिहरू, माथिका व्यक्तिहरूलाई चाकडी गर्ने, खुसी पार्ने, वरिपरि घुम्ने पात्रहरूलाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ प्राथमिकता दिइएको छ,’ उनले भनेका छन्, ‘पार्टीले चयन गरेको चरम चलखेलले भोलिको नेपालको संसद चटकदारहरूको थलो, विकृत र अवसरवादी संरचनामा परिणत हुने स्पष्ट संकेत देखाएको छ ।’ गौतमले २०७९ सालको प्रतिनिधिसभामा निर्वाचनमा काभ्रे २ मा रास्वपाबाट १० हजार ५७३ भोट ल्याएका थिए ।
यसअघि मधेश सभापति शर्मा रास्वपा छोडेर बुधबार नै कांग्रेस प्रवेश गरेकी छन् । बुधबार जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा शर्मा पार्टी प्रवेश गरेकी हुन्। उनलाई सभापति गगन थापाले पार्टीमा स्वागत गरे ।
उनले पार्टी विधि प्रक्रियामा नचलेको आरोप लगाएकी थिइन् । पार्टी प्रवेश गरेसँगै उनले रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले कांग्रेसमा प्रवेश गरेको बताइन् । ुरास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि आफूले गरेको योगदान खेर गएकाले मैले उक्त पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकी हुँ,ु उनले भनिन् ।
यसैगरी, रास्वपा नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन् । उनी ७९ सालको प्रतिनिधिसभाकी उम्मेदवार थिइन् । केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै उनले पार्टीको स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धता विपरीत गतिविधि बढ्दै गएकोले पार्टी छाडेको घोषणा गरेकी हुन् ।
राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भएर रास्वपामा आबद्ध भएको भएपनि विधि विधानविपरीत चाप्लुसीवाद र आर्थिकवादमा लिप्त भएर गएको उनको आरोप छ ।

