काठमाडौँ । नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । बेइजिङमा आज (बुधबार, डिसेम्बर ४, २०२४) भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गर्नुभएको हो ।
चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहनुभएको तेस्रो दिन यो सम्झौता भएको हो । मंगलबार प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिचको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारी–पत्रमा हस्ताक्षर भएको थियो ।
यस्तो छ फ्रेमवर्कमा परेका परियोजनाहरूः
१. टोखा–छहरे सुरुङमार्ग
२.हिल्सा–सिमकोट सडक परियोजना
३.किमाथांका–खाँदबारी सडक र पुल
४. जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग
५. डडेलधुरास्थित अमरगढी सिटी हल
६.जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन
७.मदन भण्डारी विश्वविद्यालय
८.काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम
९.दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क
१०.झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स
यसैबिच, मंगलबार दुई देशबीच ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको थियो । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार ९ विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यी हुन् नेपाल र चीनबीच भएका सहमति र समझदारीका नौ बुँदा ः
१– टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
२– नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
३– नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
४–थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
५– विकास योजना सम्बन्धी समझदारी पत्र
६– आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
७– नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
८– स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र
९– नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र
मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच दुईपक्षीय भेटवार्ता भएपछि दुई देशका अधिकारीहरुले सहमति र समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
यस्तै, सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकूद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देशबीचको जनस्तरको सम्बन्ध, गरिबी निवारणलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।

