वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
तनहुँ सदरमुकाम दमौलीमा १५ दिनपछि उठाइयो दमौलीको फोहर
Prabhu Bank AD

तनहुँ सदरमुकाम दमौलीमा १५ दिनपछि बल्ल फोहर उठाइएको छ ।फोहर नउठाउन नसक्दा दमौली बजार क्षेत्रका चोक–चोकमा फोहरका थुप्रो भएको थियो ।

व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप रानाले दमौली बजारबाट उठाइएको फोहर सोही वडाको भतेरीमा बाटो पुर्नका लागि लगिएको जानकारी दिए । उनले भने, ‘भतेरीमा फोहर विसर्जन गर्न लागिएको होइन, त्यहाँ माटोले मात्र पुर्न नपुग्ने भएकाले प्लास्टिकजन्य फोहरसमेत त्यहाँ लगेर पुर्ने र बाटो सम्याउने काम गरिनेछ ।’

तारजाली मात्रै हुँदा मादी नदीको पानीले कटान गर्नसक्ने भएकाले फोहर र माटो हालेर पुरेर बलियो बनाउन लागिएको रानाको भनाइ छ ।

उनले भने, ‘१० र १५ दिनका लागि बजार क्षेत्रका फोहर भतेरीमा लगेर ठाउँ सम्याउन प्रयोग गरिनेछ, त्यसो गर्दा यहाँ करिब २० मिटरको बाटो बनाउन सकिनेछ ।’

फोहर फाल्ने ठाउँको अभावमा नगरपालिकाले नकुहिने फोहर उठाउन सकेको थिएन । नगरपालिकाले कार्यालय परिसरभित्रै फोहर व्यवस्थापनको तयारीसमेत गरेको छ ।

व्यास–३ भतेरीमा नकुहिने फोहर बिसर्जन हुँदै आएकामा असार मसान्तबाट म्याद सकिएर स्थानीयले अवरोध गरेपछि यही साउन १ गतेदेखि दमौली बजारको वडा नम्बर २, ३ र ४ बाट नकुहिने फोहर सङ्कलन हुन सकेको थिएन ।

हाल कुहिने नकुहिने फोहर सङ्कलनलाई स्रोतबाटै वर्गीकरण गरिएकामा नकुहिने पुनः प्रयोगमा आउने सामग्री व्यवस्थापन गर्ने जग्गा खरिद प्रक्रिया चलिरहेकाले सोको टुङ्गो नलागेसम्म वा अर्को व्यवस्था नभएसम्म नगरपालिका कार्यालय प्राङ्गणभित्रै फोहर व्यवस्थापनको तयारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । उनका अनुसार कुहिने फोहर भने दैनिक रुपमा सङ्कलन भइरहेको छ ।

स्थापनाको ३१ वर्षसम्म पनि नगरपालिकाले फोहरमैला केन्द्र निर्माण गर्न सकेको छैन । नगरपालिकाले व्यास–१३ मा जग्गा खरिद गर्न कानुनी प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाले फोहरलाई सानो आकारमा राख्ने कम्प्रेशन मेसिन खरिद गर्ने र सरसफाइका पाँच गाडीमा जिपिएस जडान गर्ने प्रक्रिया अगाडि बढाउन सहमति प्रदान गरिसकेको छ ।

सदरमुकाममा अवस्थित नगरपालिकाले पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षामा केही प्रगति गरेपनि फोहरमैला व्यवस्थापनमा भने प्रगति गर्न सकिरहेको छैन । नगरपालिकामा स्थापनाकालदेखिको मुख्य समस्याका रुपमा रहेको फोहरमैला व्यवस्थापन सधैंको समस्या बन्ने गरेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय