वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित
Prabhu Bank AD

 

काठमाडौँ । बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्यांकअनुसार बिहीबार १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।

विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्गलगायत एक सय १९ सडकखण्डमा एकतर्फी रुपमा यातायत सेवा सञ्चालन भएको छ । डुम्रे–बेंसीसहर–चामे, विराटनगर–इटरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्णरुपमा अवरुद्ध छन् । जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारसम्म मुलुकभर वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको उच्च जोखिम रहेको जनाएको छ ।

विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग र सिमाना आसपास) रहेको तथा उक्त रेखा अझ नेपालतर्फ सरेकाले आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित भएको छ । यी दुवै प्रणालीको प्रभावले शनिबारसम्म नै नेपालमा मनसुन सक्रिय हुने सम्भावना छ ।

देशभर साधारणतया दली रही कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा समेत भारी वर्षाको सम्भावना छ ।

भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने भन्दै सतर्कता अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन विभागले अनुरोध गरेको छ ।

नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए । प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको ठाउँठाउँमा भत्किएका, भासिएकाले दर्जनौँ सडक अझै खुलेको छैन । वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकहरूसँग आग्रह गरेको छ ।

अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम भइरहेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन भनेको कार्कीले बताए । प्रहरीले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ुमनसुन र अविरल वर्षाका कारण बाढी र पहिराले विभिन्न स्थानमा सडक अवरुद्ध रहेको र सम्बद्ध अन्य निकायको सहयोगमा प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेकाले लामो यात्रामा निस्किनुपूर्व नजिकका प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।ु

प्रहरीले यसरी सम्पर्कका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय