पोखरा । पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २५ जना सञ्चारकर्मीहरूको सहभागितामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आजबाट सुर भएको छ । अभिमुखीकरण कार्यक्रम आज पश्चिम पृतना हेडक्वार्टर, विजयपुर ब्यारेक, पोखरामा सुरु भएको हो ।
कार्यक्रमको थालनी गर्दै पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोष बल्लभ पौड्यालले फरक विशेषता भएको सैनिक संगठन र सञ्चार जगतको समन्वय विन्दुको पहिचान गरी राष्ट्रिय सुरक्षा प्रवर्धन तथा जनताको सुसूचित हुन पाउने अधिकारको संरक्षण समानान्तर रूपमा गर्न आवश्यक रहेको बताउनु भयो ।
चार दिनसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतीकरण तथा अन्तरक्रिया सञ्चालन गरिनेछ । कार्यक्रममा जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी गौरव कुमार के.सी. लगायत अधिकृतहरूको उपस्थिति रहेको थियो ।

