कात्तिक १५ काठमाडौं । गणतन्त्र दिवसका दिन जेठ १४ गते राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलमुक्त भएका एकजना अपहरण तथा ज्यान मार्ने कसुरमा फेरि पक्राउ परेका छन् ।
असल चालचलन भएको भनेर ९ वर्षसम्म कैद सजाय भोगिरहेका भरतपुर महानगरपालिका – ९ का ५५ वर्षीय रामचन्द्र थापालाई चितवन प्रहरीले भरतपुर – १ का सोमराज सुवेदी र उसको १३ वर्षीय छोरालाई २५ लाख रुपैया नदिए ज्यान मार्ने धम्कीको उजुरी परेपछि पक्राउ परेका हुन् ।
सुवेदीले भरतपुर- १ मा धनवन्तरी मेडिकल सञ्चालन गर्दै आएका छन् । थापाले सुवेदीलाई फोन गरेर २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई भरतपुर अस्पतालको नयाँ गेट अगाडिबाट मंगलबार पक्राउ गरेको छन् । पक्राउ परेका थापाविरूद्ध मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कारागारमा राखिएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएकाछन् ।
उनका अनुसार आरोपित थापाले हिन्दी भाषामा बोलेर सुवेदीलाई धम्क्याएका थिए । ‘थापाको विगत हेर्दा पटक-पटक अपराधमा संलग्न भएको र गणतन्त्र दिवसका दिन आममाफी पाएर जेलबाट छुटेको देखिएको छ,’ प्रहरी प्रवक्ता पण्डितले भने ।
थापा र सुवेदीको चिनजान पुरानो थियो । सुवेदीको औषधि पसलका ग्राहक पनि थिए थापा । उनले हिन्दी भाषामा बोलेर सुवेदीसँग रकम माग गरेका थिए ।
गत कात्तिक ८ गतेदेखि थापाले सुवेदीलाई निरन्तर फोन गरेर रकम मागेका थिए । कात्तिक १० गते फेरि फोन गरेर थापाले पैसा लिएर विभिन्न ठाउँमा आउन भने । पैसा जुटाउँदै छु भनेर टारे । फेरि ११ गते पैसा के भो भनेर थापाले सोधे । कात्तिक १२ गते पैसा जुटाएर दिने निश्चित भएपछि सुवेदीलाई थापाले नारायणगढको सब्जी मण्डीमा बोलाए ।
आफूलाई धम्काएको र रकम मागेको जानकारी सुवेदीले जिल्ला प्रहरी कार्यालयमा गराइसकेकाले प्रहरीले सुवेदीलाई निगरानी गर्दै हिँडिरहेको थियो । सब्जी मण्डीमा रकम नलिई थापाले बौद्ध गुम्बा बसेनी चोक नजिकै बोलाए । सुरुमा २५ लाख माग गरे पनि थापालाई २० लाखमा सुवेदीले राजी गराएका थिए ।
२० लाख बोकेर हिँडेका सुवेदीसँग फरक-फरक ठाउँ भन्दै पैसा ल्याउन भनेका थापाले प्रहरीलाई पनि सँगै ल्याए बाबु-छोरालाई नै ‘सुट’ गरिदिने धम्की दिए ।
कात्तिक १३ गते दिउँसो १२ बजे उनले सुवेदीलाई फोन गरी भरतपुर अस्पतालको नयाँ गेट अगाडि पैसा लिएर आउन भने । पैसा लिंदै गर्दा प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहको विषेश टोलीले थापालाई पक्राउ गर्न सफल भयो ।
सुवेदीले रकम माग्ने व्यक्ति थापालाई देख्दा आफू दंग परेको बताए । थापा आपराधिक गतिविधिमा संलग्न भएर जेल बसेको थाहा भए पनि आफूसँग ज्यान मार्ने धम्की दिएर अपहरण गर्छु भनेर रकम माग्ला भन्ने नसोचेको सुवेदी बताउँछन् ।
पटक-पटक आपराधिक गतिविधिमा संलग्न भई नौ वर्ष कैद सजाय पाएका थापा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद छुट पाई जेलबाट रिहा भएका थिए ।
जेलबाट छुटेको पाँच महिना नपुग्दै अपहरण गरी ज्यान मार्ने धम्की दिने घटनामा थापा संलग्न भएका हुन् । प्रहरीका अनुसार उनी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ घर भई भरतपुर बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनले यसअघि २०७५ मंसिर १३ गते उनीविरूद्ध डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । त्योभन्दा अगाडि २०७३ साल वैशाख २२ गते प्रहरी वृत्त सातदोबाटो ललितपुरले लागूऔषधसम्बन्धी र २०६६ असार ३ गते चितवन प्रहरीले अवैध हातहतियार देखाई डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । त्यस्तै, २०६६ जेठ २७ गते चितवन प्रहरीले नै उनीविरूद्ध चोरीसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

